डढेलोको चपेटामा दिव्या रोजिन उद्योग: क्षमताभन्दा आधा मात्रै उत्पादन, भविष्य संकटमा

डढेलोले सल्लाका रुख नष्ट हुँदा उद्योग मारमा, सरकारलाई पनि ठूलो घाटा

लक्ष्मी भट्ट/अत्तरिया- सुदूरपश्चिम क्षेत्रकै एक ऐतिहासिक उद्योग दिव्या रोजिन एण्ड टर्पेनटाइन प्रा. ली. कच्चा पदार्थको अभाव र डढेलोका कारण संकटतर्फ धकेलिएको छ । वन जङ्गलमा लाग्ने आगलागीका कारण सल्लाका रुखहरू नष्ट हुँदा उद्योगले भविष्यमा कच्चा पदार्थ (खोटो) को गम्भीर अभाव झेल्नुपर्ने देखिएको हो ।

काठमाडौँमा प्रधान कार्यालय र कैलालीको अत्तरियामा शाखा कार्यालय रहेको यो उद्योग वि.सं. २०६३ अघिसम्म सरकारी स्वामित्वमा ‘नेपाल रोजिन एण्ड टर्पेनटाइन’ को नाममा सञ्चालित थियो । वि.सं. २०६३ मा सरकारले यसलाई निजीकरण गरेपछि हाल यो दिव्या रोजिनको नामबाट सञ्चालनमा छ ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

यस उद्योगको क्षमता वार्षिक ४ हजार मेट्रिक टन खोटो प्रशोधन गर्ने भए तापनि उद्योगले हाल १ हजार ५०० देखि २ हजार मेट्रिक टन मात्र प्रशोधन तथा उत्पादन गर्दै आएको छ । उद्योगका प्रबन्ध निर्देशक उमर थापाका अनुसार संस्था निजीकरण भएपछि उत्पादन र प्रशोधनको मात्रामा कमी आएको हो ।

पछिल्लो समय वन जङ्गलमा बढ्दै गएको डढेलो उद्योगका लागि मुख्य चुनौती बनेको छ । प्रबन्ध निर्देशक थापा भन्नुहुन्छ, “आगलागीले गर्दा जङ्गलको ठूलो नोक्सान भइरहेको छ । सल्लाका साना-ठूला रुखहरू जलेर एकातिर सरकारलाई करोडौँको घाटा लागेको छ भने अर्कोतिर भविष्यमा खोटो संकलन गर्न निकै ठूलो चुनौती खडा भएको छ ।”

मुख्यगरी तारपिन तेल र रोजिन उत्पादन गर्दै आएको यस उद्योगले स्थानीय र पहाडी क्षेत्रका नागरिकलाई रोजगारी समेत प्रदान गरिरहेको छ । हाल अत्तरियास्थित कारखाना (फ्याक्ट्री) मा ४५ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् भने कच्चा पदार्थ संकलनका लागि पहाडी क्षेत्रमा करिब १ सय जना कामदार खटिएका छन् ।

सल्लाका रुखहरू डढेलोबाट जोगाउन र उद्योगलाई टिकाउन बेलैमा वन संरक्षणका प्रभावकारी कदम नचालिए स्वदेशी कच्चा पदार्थमा आधारित यो उद्योगको भविष्य संकटमा पर्ने देखिएको छ ।

Loading...