अख्तियारद्वारा भ्रष्टाचार मुद्दा दायर दर उल्लेख्य वृद्धि, ५ वर्षमा ७९८ मुद्दा दायर

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पछिल्ला ५ वर्षमा भ्रष्टाचारजन्य कसुरमा मुद्दा दायर गर्ने दर उल्लेखनीय रूपमा वृद्धि गरेको छ।

आयोगका तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७७/७८ मा ४६ वटा मुद्दा दायर गरिएकोमा २०८१/८२ मा यो संख्या बढेर १३७ पुगेको छ। सोही अवधिमा प्रतिवादीको संख्या २३० बाट बढेर ७५३ पुगेको आयोगले जनाएको छ।

godawari10 Mahila hinsa
Navadurga sun
Dadeldhura hospital

आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार पछिल्ला ५ वर्षमा १ लाख ६६ हजारभन्दा बढी उजुरी दर्ता भएका छन्। तीमध्ये ७९८ वटा मुद्दा विशेष अदालतमा दायर भई ४ हजार ६६२ जना प्रतिवादी बनाइएका छन्। यी मुद्दामा ३१ अर्ब ५२ करोड रुपैयाँभन्दा बढी बिगो दाबी गरिएको छ।

विशेष अदालतबाट करिब ५५ प्रतिशत मुद्दामा कसुर स्थापित भएको तथ्याङ्कले देखाएको छ। बागमती प्रदेशमा संघीय निकाय तथा पदाधिकारीसम्बन्धी उजुरी सबैभन्दा बढी रहेको आयोगको ३५औँ वार्षिक प्रतिवेदनमा उल्लेख छ।

उच्च राजनीतिक पदाधिकारीदेखि वरिष्ठ कर्मचारीसम्म विभिन्न व्यक्तिहरू मुद्दामा तानिएका छन्। वाइडबडी जहाज खरिद, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण, पतञ्जली जग्गा साटफेर लगायतका चर्चित प्रकरणमा पूर्वमन्त्री तथा उच्च अधिकारीहरूमाथि मुद्दा दायर भएको छ।

आयोगले भ्रष्टाचार अनुसन्धानका क्रममा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) का तत्त्व भेटिएमा सोसमेत अनुसन्धान गर्ने कानुनी व्यवस्था अनुसार काम गरिरहेको जनाएको छ।

Loading...