काठमाडौं- देशभर आजदेखि दोस्रो आर्थिक गणना सुरु भएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालय का अनुसार गणनाका लागि गणक तथा सुपरीवेक्षकहरू सम्बन्धित क्षेत्रमा खटाइसकिएका छन्।


कार्यतालिका अनुसार स्थलगत तथ्याङ्क सङ्कलनको काम आगामी असारको पहिलो साताभित्र सम्पन्न गरिनेछ। यसका लागि करिब पाँच हजार जनशक्ति परिचालन गरिएको जनाइएको छ।



अर्थ मन्त्रालय ले मुलुकको औद्योगिक तथा आर्थिक क्षेत्रसँग सम्बन्धित महत्वपूर्ण तथ्याङ्क सङ्कलन गरिने भएकाले सबैलाई सहयोग गर्न आग्रह गरेको छ।
यस गणनामा उद्योग, व्यापार, सेवा, सहकारी, निजी तथा सार्वजनिक संस्थान, विद्यालय र अस्पताललगायत आर्थिक क्षेत्रका १८ वटा क्षेत्रका आधारभूत विवरण सङ्कलन गरिनेछ। त्यसक्रममा दर्ता भएका र नभएका सबै प्रकारका साना–ठूला व्यवसाय, रोजगारी सिर्जना गर्ने प्रतिष्ठान तथा विभिन्न संघसंस्थाको विवरण लिइनेछ।
आर्थिक गणनाको तयारीगत काम गत फागुन मसान्तमै सम्पन्न भइसकेको छ भने चैत महिनादेखि ७७ जिल्ला र थप सात गरी ८४ वटा कार्यालय स्थापना गरिएको छ। ती कार्यालयहरू असार मसान्तसम्म सञ्चालनमा रहनेछन्।
यसअघि वि.सं. २०७५ मा गरिएको राष्ट्रिय आर्थिक गणनामा देशभर ९ लाख २३ हजार ३५६ प्रतिष्ठान सञ्चालनमा रहेको तथ्य सार्वजनिक भएको थियो।





