एसईई परीक्षा भोलिदेखि सुरु, सबै तयारी पूरा

माध्यमिक शिक्षा परीक्षा (एसईई) भोलि (बिहीबार) देखि देशभर सुरु हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले परीक्षाको सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिएको छ। शैक्षिक क्यालेन्डरअनुसार परीक्षा चैतको पहिलो सातामै सञ्चालन हुनुपर्ने भए पनि २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा चुनावका कारण परीक्षा १९ चैतमा सारिएको हो।

परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार ७७ वटै जिल्लाबाट तयारी पूरा भएको जानकारी प्राप्त भइसकेको छ। प्रश्नपत्र, उत्तरपुस्तिका सबै परीक्षा केन्द्रमा पुगिसकेका छन् भने केन्द्राध्यक्षहरू पनि नियुक्त भई आफ्नो कार्यस्थलमा पुगिसकेका छन्। साथै, परीक्षा सञ्चालनका लागि आवश्यक कर्मचारी तथा सुरक्षाकर्मी पनि परिचालन गरिएका छन्।

Navadurga sun

यस वर्ष देशभर कुल १,९६६ परीक्षा केन्द्र कायम गरिएको छ, जसमा एक परीक्षा केन्द्र जापानमा पनि सञ्चालन हुनेछ। बोर्डका अनुसार यस वर्ष ५ लाख १२ हजार ४२१ विद्यार्थी एसईई परीक्षामा सहभागी हुनेछन्। तीमध्ये २ लाख ५७ हजार ६१३ छात्रा, २ लाख ५४ हजार ८०१ छात्र र ७ जना अन्य विद्यार्थी रहेका छन्। जापानस्थित एभरेस्ट स्कुलबाट २३ जना विद्यार्थीले परीक्षा दिनेछन्। परीक्षा पहिलो दिन अंग्रेजी विषयबाट सुरु हुनेछ।

यसपटकको परीक्षा प्रणालीमा महत्वपूर्ण परिवर्तन गरिएको छ। उत्तरपुस्तिका अब परीक्षा केन्द्रमै परीक्षण गरिने व्यवस्था मिलाइएको छ। केन्द्राध्यक्षको निगरानीमा शिक्षकहरूले उत्तरपुस्तिका जाँच गर्नेछन्, जसले परीक्षण प्रक्रियालाई छिटो र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ। जहाँ शिक्षक अभाव वा सुरक्षाको समस्या हुन्छ, त्यस्ता केन्द्रहरूको उत्तरपुस्तिका अन्य सुरक्षित स्थानमा सारेर परीक्षण गरिने व्यवस्था गरिएको छ।

राष्ट्रिय परीक्षा बोर्डले परीक्षा सकिएको एक महिनाभित्र नतिजा सार्वजनिक गर्ने लक्ष्य राखेको छ। यसअघि नतिजा आउन लामो समय लाग्ने हुँदा विद्यार्थीलाई मानसिक तनाव हुने गरेको थियो। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले पनि छिटो नतिजा प्रकाशन गर्न निर्देशन दिएका थिए। उनले प्रविधिको प्रयोगले नतिजा अझ चाँडो सार्वजनिक गर्न सकिने बताएका छन्।

सरकारले एसईईपछि सञ्चालन हुने ब्रिज कोर्सजस्ता तयारी कक्षामा रोक लगाएको छ। विद्यार्थीहरूले आफ्नो रुचिअनुसार अन्य सीप—जस्तै खेलकुद, संगीत आदि सिक्न सकून् भन्ने उद्देश्यले यस्तो निर्णय गरिएको हो। साथै, भविष्यमा डाटा इन्ट्री तथा पुनर्योग (रि-टोटलिङ) जस्ता काम पनि परीक्षा केन्द्रबाटै सञ्चालन गर्ने विषयमा छलफल भइरहेको बताइएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...