लामो समयपछि गोदावरी–५ स्थित गेटा आँखा अस्पताल जाने बाटो निर्माण सुरु, १५ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य


लक्ष्मी भट्ट/अत्तरिया, २७ फागुन- लामो समयपछि गोदावरी नगरपालिका वडा नं. ५ मा रहेको गेटा आँखा अस्पताल जाने सडक निर्माण कार्य सुरु भएको छ ।


नेपालकै ठूला आँखा अस्पतालमध्ये एक मानिने उक्त अस्पतालमा नेपालका विभिन्न स्थानबाट मात्र नभई भारतबाट पनि बिरामीहरू उपचारका लागि आउने गर्दछन् । लामो समयदेखि सडकको अवस्था कमजोर हुँदा अस्पतालसम्म पुग्न बिरामी र सेवाग्राहीहरूले कठिनाइ भोग्दै आएका थिए ।



नगर प्रवक्ता गोपाल दत्त भट्टका अनुसार उक्त सडक निर्माण कार्य एडीबी (एशियाली विकास बैंक) को सहयोगमा सुरु गरिएको हो । सडक निर्माणका लागि भागेश्वर कन्स्ट्रक्सनसँग ठेक्का सम्झौता गरिएको र हाल निर्माण प्रक्रिया अघि बढिसकेको उनले बताए ।
गोदावरी नगरपालिका वडा नं. ५ का अध्यक्ष सुद्दिराम चौधरीले पनि सडक निर्माण कार्य फागुन महिनादेखि औपचारिक रूपमा सुरु भइसकेको जानकारी दिए । उनका अनुसार सडक निर्माणका लागि १५ महिनाको समयसीमा तोकिएको छ र तोकिएको अवधिभित्रै निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
सडक निर्माण सम्पन्न भएपछि अस्पतालसम्म पुग्न सहज हुने, बिरामी तथा सेवाग्राहीलाई राहत पुग्ने र स्थानीय क्षेत्रको विकासमा पनि सकारात्मक प्रभाव पर्ने विश्वास गरिएको छ । स्थानीयवासीहरूले लामो समयदेखि माग गर्दै आएको उक्त सडक निर्माण सुरु भएपछि खुशी व्यक्त गरेका छन् ।