देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहेको छ भने बाँकी पहाडी तथा हिमाली क्षेत्रमा मौसम मुख्यतया सफा छ। कोशी र मधेस प्रदेशको तराईका केही स्थानमा हुस्सु लागेको छ।



महाशाखाका अनुसार आज दिउँसो तराईका अधिकांश स्थानमा मध्यान्हसम्म हुस्सु तथा कुहिरो रहने सम्भावना छ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रहनेछ भने बाँकी पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ।


आज राति तराईका केही स्थानमा हुस्सु रहनेछ। बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा आंशिक बदली रही बाँकी पहाडी तथा हिमाली क्षेत्रमा मौसम सफा रहने महाशाखाले जनाएको छ।
तराई क्षेत्रमा हुस्सु तथा कुहिरोको प्रभावका कारण दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य तथा हवाई र सडक यातायातमा आंशिक असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।





