कञ्चनपुर- शीतलहरका कारण कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ स्थित बन्तरिया शिविरमा बसोबास गर्दै आएका बाढीपीडित परिवार समस्यामा परेका छन्। हिउँदको कठ्याङ्ग्रिँदो चिसो सिधै छिर्ने कच्ची झुपडीमा बस्दै आएका उनीहरूलाई अहिले ओढ्ने–ओछ्याउने न्यानो कपडाको चरम अभाव छ।


बालबालिका र वृद्धवृद्धालाई चिसोबाट कसरी जोगाउने भन्ने चिन्ताले शिविरका बासिन्दालाई पिरोल्न थालेको छ। अत्यधिक चिसोका कारण राति सुत्नसमेत कठिन भएको शिविरका ७० वर्षीय वासुदेव रानाले बताए। “मुटु कमाउने चिसो छ, न्यानो लुगा छैन, राम्रो ओछ्यान पनि छैन,” उनले भने, “चिसो बढेपछि राति निद्रासमेत पर्न छाडेको छ।”


डेढ दशकदेखि वन क्षेत्र नजिक अस्थायी बसोबास गर्दै आएका १९ परिवारका लागि यस वर्षको हिउँद निकै कष्टकर बनेको छ। झुपडीभित्र बालबालिका र बूढापाकालाई चिसोबाट जोगाउन आगो बालेर रात काट्नुपर्ने बाध्यता रहेको पीडितको भनाइ छ।

शिविरमा बस्ने सबै परिवार मजदुरी गरेर जीविका चलाउँदै आएका छन्। मजदुरीबाट आउने न्यून आम्दानीले दैनिक छाक टार्नै मुस्किल हुने भएकाले न्यानो कपडाको जोहो गर्न नसकिएको महादेव रानाले बताए। दातृ निकायसँग पटक–पटक न्यानो कपडाको व्यवस्था गरिदिन आग्रह गरे पनि हालसम्म कुनै सहयोग नपाएको उनले गुनासो गरे।
शिविरकै अर्का बासिन्दा राजकुमार रानाले राज्यप्रति असन्तुष्टि व्यक्त गरे। “गणतन्त्र आएपछि कोही भोको र नाङ्गो हुँदैन भन्ने नारा सुने पनि हाम्रो हकमा त्यो नारा नारामै सीमित भएको छ,” उनले भने। बाढीबाट विस्थापित भएर झण्डै डेढ दशकदेखि कष्टपूर्ण जीवन बिताउँदासमेत कुनै निकायले सोधखोज नगरेको उनको गुनासो छ।
विसं २०६४ मा वनहरा नदीमा आएको भीषण बाढीले साविक देखतभूली गाविसमा रहेको घरजग्गा बगाएपछि यी परिवार विस्थापित भएका हुन्। आफ्नो स्वामित्वमा रहेको जग्गा नदीले बगाएर बगरमा परिणत भएपछि उनीहरू सुकुम्बासी बनेका थिए। हाल उनीहरू वन छेउको शिविरमा बस्दै मजदुरी गरेर जीवन धानिरहेका छन्।
प्रकृति र राज्य दुवैको उपेक्षामा परेका बाढीपीडित परिवारले तत्काल न्यानो कपडा, ओछ्यान र सुरक्षित बसोबासको व्यवस्था गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।





