शैल्यशिखर नगरपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

दार्चुला- दार्चुलाको शैल्यशिखर नगरपालिकाको प्रशासनिक भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। २०८० असारमा सुरु भएको निर्माण कार्य हाल रंगरोगन, र्यालिङ, आगनमा सेलेट राख्ने तथा झ्याल–ढोका फिटिङ जस्ता अन्तिम चरणका कामहरू भइरहेको छन्।

प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र बहादुर विष्टका अनुसार स्थानीय पूर्वाधार विभाग र शैल्यशिखर नगरपालिकाको साझेदारीमा निर्माण भइरहेको भवनको कुल लागत रु. १० करोड १९ लाख ६४ हजार ३४२ रुपैयाँ रहेको छ। दुई वर्षभित्र निर्माण सक्ने गरी सम्झौता भएको र सोही अनुसार निर्माण कार्य अघि बढिरहेको विष्टले बताए।

Navadurga sun
Godawari sandesh

“निर्माण व्यवसायीले समयमै काम गरिरहेका छन्। मङ्सिर महिनाभित्र नयाँ भवनबाट सेवा सुरु गर्ने गरी ताकेता गरेका छौं,” उनले भने।

भवन निर्माण सम्पन्न भएपछि नगरपालिका आफ्नै भवनबाट सेवा प्रवाह गर्न सक्नेछ। हालसम्म नगरपालिकाले नौ वर्षदेखि भाडाका भवनहरूमा कार्यालय सञ्चालन गर्दै आएको थियो। मासिक लाखौं रुपैयाँ भाडा खर्च गर्नुपर्दा आर्थिक भार पर्ने गरेको नगरपालिकाले जनाएको छ।

नगर प्रमुख विजयसिंह धामीले आफ्नो कार्यकालको पहिलो प्राथमिकता नै प्रशासकीय भवन निर्माण रहेको बताए।
“सधैं भाडाका भवनमा बसेर लाखौं खर्च गर्नुको सट्टा दीर्घकालीन प्रयोगका लागि आफ्नै भवन आवश्यक थियो। त्यसैले यो भवन निर्माण प्राथमिकतामा राख्यौं,” धामीले भने।

Dadeldhura hospital

दार्चुलाको सदरमुकाम खलंगापछि दोस्रो रूपमा विकसित हुँदै गएको गोकुलेश्वर बजार शैल्यशिखर नगरपालिकाको केन्द्र हो। दार्चुलाको प्रवेशद्वार समेत रहेको यो क्षेत्रमा बजार विस्तार तीव्र रूपमा भइरहेको छ। सडक छेउमा रहेका भाडाका भवनमा कार्यालय सञ्चालन गर्न कठिनाइ हुने गरेको कर्मचारीहरूले बताएका छन्।

धामीका अनुसार नयाँ भवनमा दुईवटा सुविधासम्पन्न सभाहलका साथै कृषि तथा पशु शाखाको लागि छुट्टै भवन निर्माण भइसकेको छ। अन्य शाखाका लागि नयाँ प्रशासकीय भवन पर्याप्त हुने उनले बताए।

चार वडामा नयाँ कार्यालय भवन

शैल्यशिखर नगरपालिकाका ९ वडामध्ये ४ वडामा नयाँ वडा कार्यालय भवन निर्माण सम्पन्न भएको छ। वडा नं. ३, ५, ७ र ८ मा भवन निर्माण सम्पन्न हुँदा वडा नं. ५, ७ र ८ बाट नयाँ भवनमार्फत सेवा सुरु भइसकेको छ।

वडा नं. ३ को भवन निर्माण सकिए पनि सेवा सञ्चालन प्रक्रिया सुरु हुन बाँकी रहेको नगर प्रमुख धामीले जानकारी दिए। बाँकी पाँच वडामा साविकका गाउँ विकास समितिका भवनबाट सेवा दिइँदै आएको छ।

वडा नं. ५ का अध्यक्ष जनकसिंह डागाले भाडाको घरमा सेवा दिँदा सेवाग्राही र कर्मचारी दुवैलाई सास्ती हुने गरेको बताए । “अब आफ्नै भवन बनेपछि सेवा प्रवाह सहज र प्रभावकारी भएको छ,” उनले भने । नगरपालिकाले बाँकी वडाहरूमा पनि आफ्नै भवन निर्माण गरी दीर्घकालीन रूपमा सेवा प्रवाह गर्ने लक्ष्य राखेको जनाएको छ।

Loading...