खप्तड निकुञ्ज क्षेत्रबाट भरुवा बन्दुकसहित दुईजना पक्राउ




धनगढी, ७ असाेज– खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रभित्रबाट भरुवा बन्दुकसहित दुईजना पक्राउ परेका छन्। निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेना तथा निकुञ्जका कर्मचारीको टोलीले दुईजनालाई पक्राउ गरेको हो।



पक्राउ पर्नेमा बझाङ खप्तड छान्ना गाउँपालिका–१ का ५९ वर्षीय दिलबहादुर जेठारा र ३५ वर्षीय वीरेन्द्रबहादुर कार्की रहेका छन्। उनीहरुबाट नेपाली सेनाले एक थान भरुवा बन्दुक, बन्दुकमा लाग्ने पाँच थान गोली, बारुद दुई डिब्बा तथा बन्दुकको केप एक डिब्बा बरामद गरेको सिंहसार्दूल गुल्म खप्तडले जनाएको छ।


पक्राउ परेकालाई आवश्यक कानुनी कारबाहीका लागि खप्तड राष्ट्रिय निकुञ्जको कार्यालयमा बुझाइएको नेपाली सेनाले जनाएको छ।



