प्रादेशिक विद्युत कार्यालय अत्तरियामा लगाइएको ताला खुल्यो, मंगलबार छलफल हुने





अत्तरिया, ४ असाेज– नेपाल विद्युत प्रधिकरण सुदूरपश्चिम प्रादेशिक कार्यालय अत्तरियाले लगाएको ताला खुलाएको छ । ठेकेदार मार्फत राख्ने कर्मचारी छनोटमा मनोमानी गरेको आरोप लगाउँदै विरोधमा तालाबन्धि गरेको थियो । कार्यालयले नयाँ ठेकेदार मार्फत १ देखि ३ तहका ९८ कर्मचारी छनोटमा मनोमानी गरिएको भन्दै उक्त पदका लागि आवेदन दिएकाहरुले विरोध जनाएका हुन ।



मंगलबार आवेदक, विद्युत प्राधिकरण र ठेकेदार बिच त्रिपक्षिय छलफल गर्ने सहमती भएपछि ताला खुलेको हो । विद्युत प्राधिकरणले यसअघि ठेकेदार मार्फत नै २ बर्षका लागि करारमा राखेका कर्मचारीको म्याद सकिएपछि नयाँ बोलपत्र आह्वान गरेको थियो । सोही बोलपत्रका आधारमा ठेक्का पाएको डिलस मल्टी सेक्युरेटीले पुराना कार्यरत कर्मचारीलाई बेवास्ता गर्दै आफूखुसि प्रक्रिया नपुगाई नयाँ कर्मचारी राखेको आवेदक दिएकाहरुले गुनासो गरेका छन ।


ठेकेदार कम्पनी डिलस मल्टी सेक्युरेटी अध्यक्ष प्रमोद आचार्यले आफूहरुले नयाँ ठेक्का मार्फत अहिले सम्म एक कर्मचारी पनि फिल्डमा नपठाएको बताए । उनले पुराना कर्मचारीलाई पहिलो प्राथमिकता राखेको र सबैको कागजात संकलन भइरहेको बताए । ‘हाम्रो कम्पनीमा कसैले चलखेल गर्छ मलाई जानकारी भएन । उनले कर्मचारीका लागि आवेदन माग नगरी अहिले कार्यरत रहेका ६०/७० जना र थप सम्पर्कमा आएका मान्छे नियुक्ती गरिने बताए । उनले अहिले कार्यरत कर्मचारीलाई आफ्नो धनगढी शाखामा कागजात बुझाउन आग्रह गरे ।



