

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्लालाई जोड्ने महत्वपूर्ण भीमदत्त राजमार्ग अहिले सहज बन्दै गएको छ । २०८० साउनमा आएको अविरल वर्षाले कैलालीको गोदावरी–५ खानीडाँडा र बुढीतोला क्षेत्रमा ठूलो क्षति पुर्याएको थियो । करिब ५७० मिटर सडक भासिनुका साथै माथिबाट पहिरो खसेपछि सडक पूर्ण अवरुद्ध भयो र डडेल्धुरा, बैतडी, बझाङ, डोटी, अछाम, बाजुरा र दार्चुला एक सातासम्म सम्पर्कविहीन बने । यसले पहाडी जिल्लाहरूमा दैनिक उपभोग्य वस्तुको अभाव सिर्जना गर्दै जनजीवन कष्टकर बनाएको थियो ।


सडक अवरुद्ध भएपछि तत्काल एकतर्फी यातायात सञ्चालनमा ल्याइए पनि पूर्ण मर्मतको प्रक्रिया करिब दुई वर्ष लामो भयो । सडक डिभिजन कार्यालय महेन्द्रनगरका इन्जिनियर राजेश कुमार यादवका अनुसार, पहिरो सामान्य नभई जमिनमुनिको पानीका कारण ठुलो भू–भाग भासिएको भएकाले विस्तृत अध्ययन र अनुसन्धान गर्नुपर्यो ।


अध्ययनपछि मर्मतका लागि गत वैशाखमा ६ करोड ४७ लाख रुपैयाँमा जीएसआई हटैराज जेभी कम्पनीसँग ठेक्का सम्झौता भयो । सडक बोर्डमार्फत विशेष बजेट व्यवस्थापन गरिएको थियो ।

मर्मतका क्रममा जमिनमुनिको पानी निकाल्न पाँच वटा इनार खनिएको, सब–सर्फेस ड्रेनेज प्रणाली निर्माण, सडकलाई फराकिलो बनाउन कटान, बायो–इन्जिनियरिङ विधिबाट जमिन स्थिर बनाउने र १० मिटर अग्लो मेकानिकल पर्खाल निर्माण गरिएको छ ।
यी काम सम्पन्न भएपछि अहिले राजमार्गमा दुईतर्फी सवारी सहज रूपमा गुड्न थालेका छन् । चालक र यात्रुहरूले यात्रा सुरक्षित र सहज भएको अनुभव गरेका छन् ।
तर, अझै सडक कालोपत्रे (पिच) भने गरिएको छैन । इन्जिनियर यादवका अनुसार, मर्मत गरिएको जमिन पूर्ण रूपमा स्थिर हुन केही समय लाग्ने भएकाले तत्काल पिच गर्न सम्भव छैन । त्यसैले अर्को चरणमा, करिब एक वर्षपछि जमिनको अवस्था हेरेर मात्र नयाँ ठेक्का मार्फत कालोपत्रे गरिने योजना छ ।
हाललाई, चालक र यात्रुहरूले पहिरोको त्रासबाट मुक्ति पाएका छन् तर उनीहरूको अपेक्षा भने छिट्टै कालोपत्रे सम्पन्न भई राजमार्ग पूर्ण रूपमा सुरक्षित र दिगो बन्ने तर्फ केन्द्रित छ ।





