समुदायमा आधारित शिक्षा सम्बन्धी तालीम अत्तरियामा सुरु





अत्तरिया, २५ भदौ- कैलालीको स्थायी राजधानी गोदावरी नगरपालिका वडा नं.२ अत्तरियामा रहेको सुदूरपश्चिम समावेशी आधारभुत विद्यालयमा शिक्षक/शिक्षिकाहरुका लागी समुदाय स्तरमा आधारित शिक्षा सम्बन्धी क्षमता अभिवृद्धि तालीम संचालन गरिएको छ । शुक्रबार एक अनौपचारीक कार्यक्रमका बिच तालीमको उद्घाटन गरी अन्तरक्रिया तालिम सुरुवात गरिएको छ । अन्तरराष्ट्रिय संस्था एटोसको सहयोगमा पुर्नस्थापना र विकाशका लागी स्रोत केन्द्र (आरसिआरडि) भक्तपुरले २ दिने तालीमको आयोजना गरेको हो ।


गोदावरी नगरपालिका वडा नं. २ का वडा अध्यक्ष कृष्णराज जोशीको सभापत्विमा संचालन भएको कार्यक्रमको प्रमुख अतिथी एविलिटी मञ्च प्रा.लि. काठमाडौंका डाइरेक्टर अपाङ्गता मानव अधिकारकर्मी तथा राष्ट्रिय अपाङ्ग महासंघ नेपालका केन्द्रिय अध्यक्ष सुदर्शन सुवेदी रहेका थिए।


उक्त कार्यक्रममा पुनस्थापना विकासको लागि श्रोत केन्द्र नेपाल (आरसीआरडी) काठमाडौंका निर्देशक तथा अपाङ्गता र समावेशी शिक्षा क्षेत्रमा लामो अनुभव बटुलेका सुर्यभक्त प्रजापती, आरसीआरडीका फिल्ड प्रोग्राम अफिसर सुरेश प्रधान, बिद्यालयका शिक्षक/शिक्षिका लगायतको उपस्थिति रहेको थियो ।
उक्त उद्घाटन सत्रमा बोल्दै गोदावरी नगरपालिका २ का वडा अध्यक्ष जोशीले समावेशी शिक्षाका बारेमा विद्यालयका शिक्षक/शिक्षिकाहरु सँग अन्तरक्रिया हुने भएकोले अन्तरक्रिया गर्न हुन अनुरोध गर्दै विद्यालय लगायतलाई हार्दिक धन्यवाद समेत व्यक्त गरेका थिए ।
त्यसैगरी पुनस्थापना र विकासको लागि श्रोत केन्द्र नेपालले बिगत ३६ बर्ष देखि नै अपाङ्गता भएका भाई बहिनीहरुलाई समुदायमै पुनःस्थापना गर्ने, आफ्नो घरबाट कसरी पढ्ने वातावरण बनाउने बिषयमा अध्ययन गर्ने लगायता कार्य भै रहेको बताए ।

शिक्षकलाई आधारभूत रुपमा सामाजिक शिक्षाका अवधारण, अपाङ्गता भएका व्यक्तिका सवालहरु, नेपालमा कानुनको नितिगत अवस्थाहरु, कार्यानयनको अवस्थाहरु, समावेशी शिक्षा लागु गर्न, हामीलाई पर्न गएको वाधा अडचनहरुलाई विभिन्न पक्षहरु मिली कसरी समाधान गर्ने भने बिषयमा अन्तरक्रिया गरी विद्यालयले आफुलाई समावेशी बनाउने सानो खाका पनि बनाओस भन्ने हेतुले उक्त अन्तरक्रिया तालिम कार्यक्रम गरिएको आरसीआरडीका निर्देशक सूर्यभान प्रजापतीले बताए ।
उक्त संस्थाले खामावेशी शिक्षा सम्वन्धी तालिमका लागि देशका ६ वटा जिल्लाका विद्यालयलाई छनौट गरिएको आरसीआरडीका निर्देशक प्रजापतीले बताए ।
त्यसैगरी त्रिभुवन विद्यालयका प्रोफेसरहरुले पनि यस बिषयमा अध्ययन रणनिती तथ्यांक बनाउने कार्य भएको छ । यस्तै स्थानीय बिद्यालय, व्यवस्थापन समिति, अभिभावक, नगरपालिका, गाउँपालिकाहरुलाइ क्षमता अभिवृद्धि गर्ने काम समेत राखिने भएको छ ।
निर्देशक प्रजापतीले २ दिन शुक्रबार र शनिबार शिक्षक/शिक्षिका, अभिभावक, विद्यालय व्यवस्थापन समितिलाई राखेर तालीम दिईने र २ दिन आइतबार र सोमबार नगर शिक्षा समितिलाई तालीम दिईने बताए । तालीमको अन्तमा विद्यालयले आफुलाई समावेशी बनाउने खाका तयार गरोस भन्ने उद्देश्यले उक्त अन्तरक्रिाय तालिम कार्यक्रम गरिएको उनले बताए ।
त्यस्तै कार्यक्रममा बोल्दै राष्ट्रिय अपाङ्ग महासंघ नेपालका निवर्तमान केन्द्रिय अध्यक्ष सुदर्शन सुवेदीले सरकारको सबैका लागी शिक्षा कार्यक्रम संघियता आईसके यता अपांगता भएका बालबालीकाहरुको शिक्षाको लागी प्रभावकारी नभएको बताए ।
अध्यक्ष सुवेदीले सरकारले विद्यालय बाहिर कोही नरहुन भन्ने उद्देश्यले सञ्चालन गरेको उक्त कार्यक्रममा प्रायजसो अपाङ्गता भएका बालबालीकाहरु नै बाहिर रहेको बताए । अपाङ्गता भएका बालबालीकाहरु विद्यालयमा आउन भौतिक पहुँच नभएको तथा विद्यालयमा अपाङ्गता मैत्री वातावरण नभएका कारण प्रायजसो अपाङ्गता भएका बालबालीकाहरु विद्यालय बाहिर रहने गरेको उनले बताए । समुदायमा आधारीत समावेशी शिक्षाले अपाङ्गता भएका बालबालीकाहरुलाई शिक्षा आर्जनमा सहजता हुने अध्यक्ष सुवेदीले बताए ।
अपाङ्गता भएका बालबालिहरुलाई समुदायमै रहेर पढ्न पाउनुपर्छ भन्ने उद्देश्यले नै आरसिआरडि संस्थाले कार्य थालिरहेको बताउँदै त्यसमा उनिहरुलाई आवश्यक पर्ने सहयोग राज्यले व्यवस्था गदि दिनु पर्ने समेत बताए ।
उक्त तालीममा विभिन्न विद्यालयका २० जना शिक्षक/शिक्षिकाहरुको सहभागीता रहेको थियो । तालीमको प्रशिक्षकका रुपमा आरसिआरडि संस्थाका निर्देशक सुर्यभक्त प्रजापति, राष्ट्रिय अपाङ्ग महासंघ नेपालका निर्वतमान केन्द्रिय अध्यक्ष सुदर्शन सुवेदी र आरसिआरडि संस्थाका फिल्ड प्रोग्राम अफिसर सुरेश प्रधान रहेका छन ।
उक्त अन्तरक्रिया तालिममा स्वागत मन्तव्य सुदूरपश्चिम समावेशी आधारभुत विद्यालयकी प्रधानाध्यापक देवी साउँदले व्यक्त गरेकी थिइन भने कार्यक्रमको सञ्चालन विद्यालयका संस्थापक अध्यक्ष मान बहादुर साउँदले गरेका थिए ।



