अन्नभण्डारमै छैन सिँचाइ सुविधा

कञ्चनपुर । पुर्नवास नगरपालिका–२ का तेजबहादुर चन्दले सात बिघा जग्गा भाडामा लिएर उखुखेती गर्दै आएका छन् । अन्य खेतीको तुलनामा उखुखेतीलाई धेरै पानी चाहिन्छ तर यहाँ सिँचाइ सुविधा नहुँदा यहाँका उखु किसानले समस्या खेप्दै आएका छन् ।

“यो क्षेत्रमा दुई चिनी मिल छन्, उखुखेती धेरै हुन्छ”, चन्दले भने, “बोरिङबाट सिँचाइ लागत धेरै लाग्ने गरेको छ ।” बोरिङबाट सिँचाइ गर्दा एकातर्फ किसानको लागत बढिरहेको छ भने अर्कातर्फ सबै ठाउँमा बोरिङबाट पानी नआउँदा सिँचाइका लागि समस्या भइरहेको छ । धान र गहुँखेतीका लागि पनि यहाँको भूमि अत्यन्तै उर्वर मानिन्छ । यहाँको उत्पादित खाद्यान्न सुदूरपश्चिमका पहाडी जिल्लासम्म पुग्छ । तर, यही उर्वरभूमिमा सिँचाइको समस्या रहेको किसानको गुनासो छ ।

Navadurga sun
Godawari sandesh

पुर्नवास नगरपालिका–४ का सुरतबहादुर मल्लले सिँचाइ सुविधा नहुँदा अकासे पानीका भरमा खेती गरिरहेको बताए । “महाकालीको पानी आउँछ भन्न थालेको दुई दशक भइसक्यो”, उनले भने, “पानी नहुँदा बीउ सुक्छ, अकासे पानीका भरमा मात्र सिँचाइ हुन्छ ।”

महाकाली सिँचाइ दोस्रो चरणअन्तर्गत दक्षिणी क्षेत्रको बेल्डाँडी नगरपालिका र बेलौरी नगरपालिकाका केही भूभागमा सिँचाइ सुविधा पुगे पनि पुर्नवास नगरपालिकामा सिँचाइ सुविधा पुग्न सकेको छैन । “महाकाली सिँचाइबाट पनि यहाँ नहर पुर्याउन सर्भे भएको थियो”, उनले भने, “महाकाली नदीको पानी खेतमा पुग्ने आशामै छौँ ।”

Dadeldhura hospital

महाकाली सिँचाइ आयोजना तेस्रो चरणले पुर्नवास क्षेत्रमा करिब १५ हजार हेक्टरमा २०८६ सम्म सिँचाइ पुर्याउने लक्ष्य राखेको छ । यसका लागि सरकारले महाकाली सिँचाइ तेस्रो चरणलाई राष्ट्रिय गौरवको आयोजनामा समावेश गरेर २०८६ सालसम्म काम सम्पन्न गर्ने लक्ष्य राखेको छ । आयोजनाका सिनियर डिभिजनल इन्जिनियर राजेशभक्त पोखरेलले यसअघि बजेट अभाव, मुआब्जा वितरण र वन क्षेत्रको उल्झनका कारण निमार्णमा ढिलाइ भए पनि राष्ट्रिय गौरवको आयोजना बनेपछि निर्माणकार्यले गति लिएको बताए । उनका अनुसार आयोजनाको भौतिक प्रगति २६ प्रतिशत छ ।

आयोजनाको २८/८ किलोमिटरदेखि ४८.३ किमीसम्म मूल नहर निर्माणका लागि गत वर्ष पाँच प्याकेजमा ठेक्का सम्झौता भएको छ । तीन वर्षभित्र काम सक्नेगरी ठेक्का सम्झौता भए पनि बजेट अभाव, रूख कटानमा समस्या, जमिन अधिग्रहणलगायत समस्या भएकाले निर्माणले गति लिन सकेको छैन । आर्थिक वर्ष २०६२र६३ मा काम सुरु भएको आयोजनाको हालसम्म २८.९ किमी मूल नहर निर्माण भएको छ । मूल नहर बनेका क्षेत्रमा २२ वटा शाखा नहर निर्माणाधीन अवस्थामा छन् ।

कञ्चनपुरमा हाल महाकाली सिँचाइ आयोजना पहिलो र दोस्रो चरणबाट ११ हजार ६९९ हेक्टरमा सिँचाइ सुविधा उपलब्ध छ । विसं २०४२ मा सुरु भई २०४८ मा सम्पन्न भएको महाकाली सिँचाइ पहिलो चरणबाट चार हजार ८०० हेक्टर र २०५२ मा सम्पन्न भएको दोस्रो चरणबाट छ हजार ८०० हेक्टर क्षेत्रमा सिँचाइ सुविधा पुगेको छ ।

पहिलो र दोस्रो चरणको सिँचाइबाट यहाँको भीमदत्त, बेदकोट नगरपालिका र बेलडाँडी गाउँपालिकासम्म सिँचाइ सुविधा उपलब्ध छ । तर सुक्खायाममा भारतले नेपालतर्फ थोरै पानी छाड्ने भएका कारण बेलौरी नगरपालिकासम्म पानी पुग्दैन जसका कारण यहाँका किसानले पानी नपाउने समस्या झेल्दै आएका छन् ।

विसं २०६३ देखि महाकाली सिँचाइ तेस्रो चरणको काम सुरु भए पनि हालसम्म आयोजनाको २८ किलोमिटर मूल नहरमात्र निमार्ण भएको छ । एक सय ५१ किलोमिटर मूल नहर रहेको अयोजना सम्पन्न भएपछि कैलाली र कञ्चनपुरको ३३ हजार ५२० हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुग्ने छ । कृषि ज्ञान केन्द्र महेन्द्रनगरका अनुसार कञ्चनपुरमा कुल खेतीयोग्य जमिन एक लाख ६१ हजार ७४१ हेक्टर छ । जसमध्ये ५९ हजार छ सय दुई हेक्टर अर्थात् ३६ प्रतिशत जमिनमा खेती हुने गरेको छ । जसमा २९ प्रतिशत क्षेत्रफलमा मात्र सिँचाइ सुविधा उपलब्ध हुने गरेको छ । रासस

Loading...