सुदूरपश्चिमका दुई जसपा सांसदले छाडे महन्थको साथ




अत्तरिया, २ भदौ : जनता समाजवादी पार्टी (जसपा) का दुईजना प्रदेशसभा सदस्यहरूले महन्थ ठाकुरको साथ छोडेका छन् । विगतमा महन्थ(राजेन्द्र पक्षमा रहेका प्रदेशसभा सदस्य कृष्ण चौधरी र मालामती कुमारी चौधरीले उनीहरूको साथ छाडेका हुन् । उनीहरू दुवै तत्कालीन राष्ट्रिय जनता पार्टीका हुन् ।



समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी एकतापछि जसपा बनेको थियो । उनीहरू दुवैजनाले मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिने समयमा एमालेको ओली समूहसँगै विश्वासको मतको विपक्षमा मतदान गरेका थिए । उपेन्द्र यादवले पार्टी आधिकारिकता पाएसँगै उनीहरूले ठाकुरको साथ छाडेका हुन् ।


प्रदेशसभा सदस्य राना हिजोदेखि काठमाडौंमा शुरू केन्द्रीय कार्य समितिको प्रथम बैठकमा सहभागी भएकी छन् । अर्का सांसद चौधरीले स्वास्थ्य समस्या भएका कारण बैठकमा जान नसकेको बताए । ‘हामीले कसैको साथ छोडेको भन्ने होइन । हामी आधिकारिक लाइनमा उभिएका हौँ’ सांसद रानाले भनिन्, ‘हाम्रो लागि व्यक्तिभन्दा पार्टी ठूलो कुरा हो । ’



