सुदूरपश्चिममै पहिलो पटक निसर्ग हस्पिटलले सुरु गर्यो ‘टेलीमेडिसिन सेवा’




धनगढी, १ भदाै– धनगढीको निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टरले सुदूरपश्चिममै पहिलो पटक ‘टेलीमेडिसिन सेवा’ सञ्चालनमा ल्याएको छ। मुलुक संघीयतामा प्रवेश गरे पनि सुदूरपश्चिमका पहाडी जिल्लाका नागरिक अझै पनि विशेषज्ञ डाक्टरको सेवाबाट बञ्चित रहेको अवस्थामा विशेषज्ञ स्वास्थ्य सेवाको पहुँच पुर्याउने उद्देश्यले सो सेवा सञ्चालनमा ल्याइएको हस्पिटलले जनाएको छ।



सुदूरपश्चिममै पहिलोपटक सञ्चालनमा ल्याएएको टेलिमेडिसिन सेवामार्फत विशेषज्ञ चिकित्सकले सातवटै पहाडी जिल्लाका बिरामीहरुलाई आवश्यक परामर्श तथा उपचार सेवा प्रदान गर्ने हस्पिटलका स्वास्थ्य निर्देशक डा. मिराज आलम अन्सारीले जानकारी दिए।


सोमबारदेखि बझाङबाट ‘टेलीमेडिसिन सेवा’ सुरु गरिएको हस्पिटलका अध्यक्ष तीर्थराज पन्तले बताए। उनले छिट्टै अन्य जिल्लामा पनि सेवा विस्तार गरिने जनाए। जीआईजेड र मिदास टेक्नोलोजी प्राइभेट लिमिटेडसँगको सहकार्यमा बझाङको देउलेख प्राथमिक स्वास्थ्य केन्द्रबाट ‘टेलीमेडिसिन सेवा’ सञ्चालनमा ल्याइएको अध्यक्ष पन्तले जानकारी दिए।
‘टेलीमेडिसिन सेवा’मार्फत स्वास्थ्य परीक्षण तथा परामर्श लिएको शुल्क लाग्ने छैन। निजी तथा सरकारी स्तरबाट प्रदेशमा‘टेलीमेडिसिन सेवा’ सञ्चालनमा नभएकाबेला निसर्ग हस्पिटलले थालनी गरेको हो।



