


बाजुरा- राष्ट्रपति रामचन्द्र पौडेलले बाजुरा जिल्लाको त्रिवेणी नगरपालिका वडा नम्बर ७ मा अवस्थित नाटयश्वरी मन्दिरको नवनिर्मित भवनको बिहीबार उद्घाटन गरेका छन् ।


उद्घाटन समारोहमा उनले परापूर्वकालदेखि यी स्थलहरूमा पूजाअर्चना गरी आफ्नो र देशका लागि विभिन्न मनोइच्छित वरदान माग्ने गरेको हामीले सुन्दै आएका बताउँदै आज आफूले यस पुण्य भूमिमा उभिएर सम्पूर्ण नेपाली जनताको सुख, शान्ति र मुलुकको समृद्धिका लागि प्रार्थना गरेको बताए ।



राष्ट्रपति पौडेलले बडिमालिका क्षेत्रमा आएर प्रकृतिको अनुपम दृश्य देख्न पाउँदा आफूलाई जीवनको सबैभन्दा ठुलो तीर्थस्थलमा आएको महसुस भएको बताउए । “जब मैले बडीमालिका उभिएर चारैतिर प्रकृतिको अनुपम र मनोरम जुन छटा देखे मलाई म स्वर्गमा आएको महसुस भएको छ, मैले जीवनको सबैभन्दा ठुलो तीर्थस्थलमा आएको महसुस गरेको छु ।
नाट्यश्वरी देवीको मन्दिर प्राङ्गणमा उभिएर देवीलाई सम्झेर म भन्न चाहन्छु, यहाँ रहेको प्रकृतिको छटाबाट साँच्चैको स्वर्ग कस्तो हुन्छ भन्ने पहिलो पटक हेर्न पाएको छु,” उनले भने, “मलाई बाजुरावासी स्वर्गका बासिन्दा जस्तो लागेको छ, विपन्नतामा छौ भन्ने तपाईँहरूलाई लाग्ला, अब तपाईँहरूले त्यो भावना मनमा नराख्नुहोला, यो ठाउँको कृषि, पर्यटनको विकास हुन्छ, स्तरीय बाटो खुल्छ र यो भूमि सुन्दरता र वैभवताले भरिपूर्ण हुनेछ।”

राष्ट्रपति पौडेलले बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विविधतायुक्त हाम्रो समाजलाई प्रसिद्ध धार्मिकस्थल एवम् दिव्यधामहरूले एकताको सूत्रमा आबद्ध गरी धार्मिक सहिष्णुता तथा आपसी सद्भाव कायम गर्दै सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेको बताए ।
“बाजुरामा ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा प्राकृतिक धरोहरहरू हुँदाहुँदै पनि विकास र समृद्धिमा पछाडि परेको छ, स्रोत र साधनका लागि अथाह सम्भावना बोकेको यो भूमिको विकासका लागि राज्यको उचित ध्यान जाने विश्वास व्यक्त गर्दछु”, राष्ट्रपति पौडेलले भने ।
त्रिवेणीमा अवस्थित बडीमालिका दिव्यधामलाई नेपालकै एक अलौकिक धरोहरका रूपमा लिइने र यस्तो दिव्यधाममा आएर बडीमालिकाको दर्शन र नाटेश्वरी देवीको दर्शन गर्न पाएकोमा उनले खुसी प्रकट गरे । राष्ट्रपति पौडेलले यो धार्मिकस्थल पर्यटकीय, पुरातात्त्विक, सांस्कृतिक एवम् प्राकृतिक सुरम्य स्थलका रूपमा रहेको र यो स्थल साँच्चिकै स्वर्ग हो भन्ने अनुभूत गरेको बताए ।
“यहाँका अलौकिक, प्राकृतिक सम्पदा जस्तैस् कस्तुरी, मृग, झारल, घोरल, बाघ, भालु, विभिन्न चराचुरुङ्गी, डाँफे, मुनाल साथै अमूल्य जडीबुटीहरूले सु–शोभित पुण्य भूमिको आरक्षण र यस क्षेत्रको विकास जरुरी छ भन्ने मलाई लागेको छ, यसका लागि म सरकारको ध्यानाकर्षण गराउन चाहन्छु”, उनले भने ।
यस दिव्यधामको सानिध्यमा रहेका त्रिवेणी, मौर्या क्षेत्र र नाटेश्वरी देवीको मन्दिर नेपालको अति प्रसिद्ध धार्मिक स्थल हो । बडीमालिका दर्शनपछि नाटेश्वरी मन्दिरमा आएर दर्शन गर्ने मान्यतासमेत रहेको छ । यस स्थलको स्कन्धपुराणको मानस खण्डमा पूर्ण रूपमा वर्णन गरेको पाइन्छ ।





