दार्चुला प्रकरण : छानबिन गर्न गठित सरकारी टोली धनगढीमा

धनगढी, २७ साउन- दार्चुला तुइन घटना छानबिन गर्न गठन गरिएको सरकारी टोली धनगढी पुगेको छ । गृह मन्त्रालयका सहसचिव जनार्दन गौतम नेतृत्वको टोलीले बुधबार धनगढी पुगेर सुदूरपश्चिम मुख्यमन्त्री त्रिलोचन भट्ट र आन्तरिक मामिला तथा कानूनमन्त्री पूणर्ा जोशीसँग भेटघाट गरेका छन् ।

Dadeldhura hospital

उक्त छानबिन टोलीले दार्चुलामा रहेर गरेका कामको बारेमा मुख्यमन्त्री भट्ट र कानूनमन्त्री जोशीलाई जानकारी गराएको छ । मन्त्री जोशीले गृहको टोलीले दार्चुलामा सरोकारवाला निकाय, पीडित परिवार, प्रत्यक्षदर्शीसँग भेटघाट तथा छलफल, घटनास्थलको अवलोकन गरेको विषयमा जानकारी गराएको बताउँदै प्रतिवेदन भने काठमाडौं पुगेर बुझाउने बताइन् ।

Navadurga sun
Godawari sandesh

मन्त्री जोशीले टोलीलाई यहाँको सीमा सुरक्षा, भारतीय पक्षले सीमा नाका दिने सास्ती लगायतका विषयमा जानकारी गराउँदै आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन सरकार गम्भीर बन्नुपर्ने सुझाव समेत दिएकी छन् । ‘सिंहदरबारको आँखाबाट सीमा सुरक्षा र शान्ति सुरक्षाका हकमा सरकारको सुदूरपश्चिमलाई हेर्ने दृष्टिकोण कमजोर छ भन्ने कुरा मैले पनि राखेकी छु,’ मन्त्री जोशीले भनिन्, ‘सशस्त्र प्रहरीका बीओपीहरु व्यवस्थित गर्नुपर्ने, दार्चुला तिङ्कर सडक, महाकाली करिडोर र महाकाली नदीमा निर्माणाधीन झोलुङ्गे पुल शीघ्र निर्माण गरेर आवतजावतका लागि दार्चुलाबासीले भारतीय भूमिको प्रयोग गर्नुपर्ने बाध्यता अन्त्य गर्नुपर्ने सुझाव दिएँ ।’

गत १५ साउनमा भारतीय भूमिको प्रयोग गरेर सदरमुकाम खलंगा आउने बेला महाकाली नदीमा तुइन तर्ने क्रममा भारतीय एसएसबीले डोरी काटिदिएपछि खसेर व्याँस गाउँपालिका वडा नं. २ का जयसिंह धामी बेपत्ता भएका थिए । गृह मन्त्रालयले घटनाको छानबिनका लागि सहसचिव गौतमको नेतृत्वमा छानबिन टोली गठन गरेको थियो । करीब ८ दिनसम्म दार्चुलामा बसेर काम गरेको टोलीले अहिले प्रदेश राजधानी र महाकाली नदीसँग जोडिएका जिल्लामा सरोकारवालासँग भेटघाट र छलफल गरिरहेको हो ।

Loading...