साउन २५ देखि ३२ गतेसम्म ‘खोप सप्ताह’ मनाइने

काठमाडौँ, २१ साउन– सरकारले यही साउन २५ गतेदेखि ३२ गतेसम्म ‘खोप सप्ताह’ मनाउने भएको छ । प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिको आज बसेको बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले साउन २५ गतेदेखि खोप सप्ताह मनाउने तयारी भइरहेको जनाएको हाे ।

यस अवधिमा जापानबाट आउने ८ लाख र भुटानबाट आउने ३ लाख डोज कोरोना विरुद्धको खोप लगाइने उनले बताए। दुवै देशबाट शनिबार र आइतबारसम्म खोप आइसक्ने पनि राज्यमन्त्री श्रेष्ठले जानकारी दिए । कोभिशिल्ड खोप यसअघि एक मात्रा खोप लगाएर बसेका ज्येष्ठ नागरिकहरूलाई लगाइने पनि उनले जनाकारी दिए ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

राज्यमन्त्री श्रेष्ठले बालबालिकाका लागि फाइजरको ६० लाख डोज खोप ल्याउने प्रक्रिया पनि अगाडि बढाइएको जानकारी दिए । उनले देशभरि गरेर १६ हजार खोप केन्द्रबाट कोरोना विरुद्धको खोप लगाउने कार्य भइरहेको, तेस्रो लहरको व्यवस्थापनका लागि विज्ञहरूसँग छलफल भइरहेको र यस सम्बन्धमा सरकार गम्भीर रहेको बताएका छन् ।

बैठकमा सांसदहरुले सरकारले छिटोभन्दा छिटो सबै नागरिकमा खोप पुर्‍याउनुपर्ने, एक मात्रा खोप लगाएर बसेका ज्येष्ठ नागरिकका लागि छिटो दोस्रो मात्रा खोप उपलब्ध गराउनुपर्ने, खोप लगाउने कार्यलाई प्रभावकारी बनाउनु पर्नेमा जोड दिए ।

त्यसैबीच स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले साउन महिना पछाडि कोरोना सङ्क्रमितको सङ्ख्या क्रमशः घट्दै जाने प्रक्षेपण गरेको छ । साउन महिनामा ५३ हजारभन्दा बढी नयाँ सङ्क्रमित थपिने पूर्वानुमान गरेको स्वास्थ्य मन्त्रालयले यो सङ्ख्या घट्दै गएर मङ्सिर महिनासम्ममा २५ हजारको हाराहारीमा पुग्ने प्रक्षेपण गरेको छ ।

Loading...