


धनगढी- कैलालीमा बजेट अभावले हुलाकी राजमार्ग स्तरोन्नतिको काम प्रभावित बन्न पुगेको छ । यस वर्ष विनियोजित बजेट सकिएपछि आयोजना कार्यालयले सम्पन्न भएका कामको समेत भुक्तानी गर्न नसकेको हो।



निर्माण कम्पनीहरूले भुक्तानीका लागि साढे २२ करोड रुपैयाँको बिल पेस गरेको हुलाकी राजमार्ग आयोजना कार्यालय धनगढीका सूचना अधिकारी इन्जिनियर बर्ख बहादुर कठायतले बताए । यस अघि भएको कामको पनि भुक्तानी नपाएपछि निर्माण कम्पनीले कामलाई सुस्त बनाएको आयोजना कार्यालयले जनाएको छ ।


यस वर्ष आएको ३८ करोड बजेट फागुन मसान्त मै सकिएपछि केन्द्रमा थप बजेटको माग गरिएको छ । एउटै कम्पनीको साढे ३ करोड सम्म भुक्तानी रोकिएको छ । राजमार्ग अन्तर्गत धनगढी देखि टीकापुरको सत्ती सम्म सडक स्तरोन्नतिको काम भइरहेको छ । त्यस्तै, लम्की देखि सत्ती जोड्ने हुलाकी राजमार्गकै लिंक रोड कालोपत्रको काम जारी छ ।





