


अत्तरिया- राष्ट्रिय स्वतन्त्र पार्टीले सुदूरपश्चिम प्रदेशबाट घँटिमित्र अभियान सुरु गरेको छ । संगठन निर्माण र सदस्यता बारेमा जानकारी गराउन कैलालीको अत्तरियामा रहेको प्रतिभा सामुदायिक पुस्तकालयको सभाहलमा रास्वपा गोदावरी नगर समितिको आयोजनामा पत्रकार सम्मेलन गरिएको हो ।


उक्त अभियान गोदावरी नगरपालिकाबाट सुरू भई सुदूरपश्चिम प्रदेश भरी नै संचालन हुने बताइएको छ । सम्मेलनमा प्रदेश प्रबक्ता सन्तोष राज जोशी, नगर सभापति दिपक ओझा, प्रदेश कोषाध्यक्ष जसु भट्ट, उपमहानगरपालिका सभापति कविन्द्र ठकुल्ला, कैलाली जिल्ला उपसंयोजक गणेश बोहरा, नगर सचिव भानदेब पनेरु, प्रदेश सदस्य हेमन्त नारायण जोशी, प्रत्यक वडाका संयोजकहरु, दिपक पुरी, प्रमोद ओझा, मायालु भट्ट लगायतको उपस्थिति रहेको थियो ।



रास्वपाले ५ बर्षका लागी सदस्यता शुल्क १ हजार लिने गरेको छ । आर्थिक समस्या भएकाहरुलाई यो रकम बढी भएको ले १ सय रुपैयाँमा घँटिमित्र बनाउने अभियान सुदूरपश्चिम प्रदेशबाट सुरू गरिएको जनाएको छ ।
सम्मेलनमा प्रदेश प्रवक्ता जोशीले सुदूरपश्चिम प्रदेश समितिले केन्द्रीय समितिसंग सल्लाह गरेर स्वीकृति लिएर घण्टीमित्रको अभियान ल्याउन लागेको बताए । वार्षिक १ सय रुपैयाँ तिरेर पार्टीप्रति आस्थावान व्यक्तिहरुले घण्टीमित्र बन्न पाउने प्रवाधान ल्याउन लागेको तर घण्टीमित्र भनेको पार्टी सदस्यता भने हुने छैन ।
अरु प्रदेशले भने अझैसम्म यसको टुंगो नलगाएको अवस्थामा सुदूरपश्चिमबाट सुरुवात भएको जनाएको छ । घण्टीमित्रले पार्टीको अधिवेशनमा तथा निर्वाचन भाग लिन नपाउने तर पार्टीमा सल्लाह सुझाव दिन सक्ने, घण्टीमित्र पार्टी भित्र आस्थावन व्यक्तिहरुको समूह हो, आर्थिक श्रोतले कमजोर भएका राजनीतिमा आउन चाहने कार्यक्षमता भएका व्यक्तिहरुलाई पहिचान गर्नको निम्ति घण्टीमित्र सुरू गरेको बताए ।
यस्तो किसिमको बनाइएको घण्टीमित्र प्रदेशमा मात्र अभिलेखीकरण हुने जनाइएको छ । सुरुवातमा यो रकम प्रदेशको खातामा जम्मा हुने छ भने पछि ७०% रकम स्थानीय तहको समितिलाई प्रदान गर्ने र ३०% रकम प्रदेश समितिमा राख्ने जनाइएको छ । १ हजार रुपैयाँ तिरेर सदस्यता लिन नसक्नेहरुलाई घण्टीमित्र बनाउने र तिनीहरुको कार्यक्षमता हेरेर भविष्यमा राजनीतिमै अगाडी बढ्न चाहनेहरुलाई निःशुल्क सदस्यता समेत प्रदान गर्ने छ । १ हजार रुपैयाँ धेरै भयो भनेर जनताबाट गुनासो आएकाले आस्थावान व्यक्तिहरुलाई समेट्नको लागि यो अवधारणा ल्याइएको हो । सदस्यता शुल्क पनि घटाउने प्रयास केन्द्रबाट हुन सक्ने बताएका छन् ।





