सुदूरपश्चिम प्रदेशमा थप २४ जना नयाँ काेराेना संक्रमित थपिए





अत्तरिया, १३ असार– पछिल्लो ४ दिन यता सुदूरपश्चिम प्रदेशमा कोरोनाबाट मृत्यु हुने दर शून्यमा झरेको छ । कोरोना भाइरसको दोस्रो लहर देखिएयता सुदूरपश्चिम प्रदेशमा एकैदिन सबैभन्दा बढी ३१ जनाको मृत्यु भएकोमा पछिल्लो दिनमा मृत्युदर घट्दै शून्यमा झरेको हो ।


असार ९ गते कोरोनाबाट एक जनाको मृत्यु भएकोमा त्यसयता कसैको पनि कोरोनाबाट ज्यान गएको छैन । स्वास्थ्य निर्देशनालय दिपायलले पछिल्लो २४ घण्टामा प्रदेशमा कसैको पनि कोरोनाबाट मृत्यु नभएको तथ्याङ्क आइतबार सार्वजनिक गरेको छ ।



यो अवधिमा ७ सय ७६ जनाको कोरोना परिक्षण गरिएकामा २४ जना भने नयाँ संक्रमित थपिएका छन । ७३ नमूनाको पिसिआर विधिबाट कोरोना परिक्षण गर्दा ३ जना र ७ सय ३ नमूनाको एन्टीजेन विधिबाट परिक्षण गर्दा २१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय जनाएको छ ।
पछिल्लो समय प्रदेशमा कोरोना संक्रमित हुनेको सङ्ख्यामा पनि कमी आएको छ । दोस्रो लहरको कोरोना भाइरस देखिएयता गएको जेठ ७ गते एकै दिनमा प्रदेशमा सबै भन्दा बढी ९८४ जना नयाँ सङ्क्रमित थपिएका थिए ।
यो सँगै प्रदेशमा कोरोना सङ्क्रमितको संख्या ४३ हजार ४ सय ९१ पुगेको छ । जसमध्ये ३४ हजार ७ सय ९५ जनाले कोरोना जितेका छन । पछिल्लो २४ घण्टामा प्रदेशबाट ३० जना सङ्क्रमितले कोरोना जितेका छन । कोरोना सङ्क्रमणबाट प्रदेशमा हालसम्म ५ सय ७० जनाले ज्यान गुमाई सकेका छन ।



