शक्ति र सत्ताको आडमा कैलालीको गोदावरीमा ३६ लाखको योजना मनपरी





धनगढी, ५ असार– शक्ति र सत्ताको आडमा कैलालीको गोदावरीमा ३६ लाखको योजनामा मनपरी भएको खुलेको छ। गोदावरीका नगरप्रमुख हरीसिंह साउँदका भाइले नै ढल निर्माण र ग्राभेलको योजना आफ्नो खेतबारीमा पारेको पाइएको हो। मेयरका भाइले डोजर लगाएर एकान्तकुना (विष्ट) टोलका लागि आएको योजना बस्ती नै नभएको आफ्नो खेतमा हालेको भन्दै टोलबासीले विरोध गरेका छन्।





नगरपालिकाको वडा नम्बर २ एकान्तकुना अर्थात विष्ट टोलभित्र ढल निर्माणका लागि २० लाख र ग्राभेलका लागि १६ लाख बजेटको योजनामा मेयरका भाइ भोजराज साउँदले मनपरी गरेको स्थानीयले गुनासो गरेका छन्। २० फिटभित्र नाली निर्माणका लागि सहरी विकासबाट २० लाख र नगरपालिकाले ग्राभेल गर्न १६ लाख बजेट विनियोजन गरेको थियो।

एकान्तकुना टोलका लागि आएको बजेट मेयरका भाइले आफ्नो खेतबारीमा पारेको र डोजर लगाएर धमाधम निर्माणको काम गर्दै आएको स्थानीयले गुनासो गरेका छन्। ‘दुवै योजना हाम्रो टोलका लागि आएका हुन् तर मेयरले नै योजना सार्ने चलखेल गरे’ स्थानीय सुमन विष्टले गुनासो गरे। यति ठुलो बस्तीलाई लत्याएर खेतबारी भएको स्थानमा योजना सारिएको उनले बताएका छन्।
‘यो सरासर गलत हो’ उनले भने, ‘मेयरका भाई आफै यो योजनाको अध्यक्ष हुनुहुन्छ अनि आफ्नै खेतबारीमा योजना समेत लगेका छन्, यस कार्यको एकान्तकुना टोलवासीले विरोध गरेका छन्।’ ‘हाम्रै टोलको बाटो सुधार तथा ढल निर्माणका लागि आएको योजना एकाएक अहिले खेतबारीमा लगिएको छ’ अर्की स्थानीय चावा कामी भन्छिन्, ‘मेयर सापले हामीमाथि ठुलो अन्याय गरेका छन्।’
ढल तथा ग्राभेल उपभोक्ता समितिका अध्यक्ष मेयरका भाई भोजराज साउँद नै रहेको अवस्थामा आवश्यक भन्दा अनावश्यक ठाउँमा योजना लगेको समेत बताइएको छ। योजनामा किटान गरेरै तोकिएको स्थानमा ढल तथा ग्राभेल हुनुपर्ने हो तर आफुअनुकुल खेतबारीमा योजना लगेको भन्दै स्थानीय आक्रोसित बनेका हुन्।
वडा नम्वर २ का वडा सदस्य कमल कडायतले एकान्तकुना टोलका लागि आएको योजना बस्ती नै नभएको ठाउँमा लैजानु सरासर गलत भएको बताए। ‘यो टोलवासीप्रतिको अपमान हो’ उनले भने। ग्राभेल र ढल निर्माणका लागि आएको योजना तोकिएकै स्थानमा हुनुपर्ने जनप्रतिनिधि बताउँछन्।
टोलवासी ग्राभेल र ढल निर्माणका लागि बजेट अभाव भए श्रमदान गर्न समेत तयार रहेको तर आफ्नो टोलका लागि आएको योजना खेतवारीमा लैजानु अन्याय भएको वडा नम्बर २ का अध्यक्ष कृष्णराज जोशीले बताए। ‘वडा अध्यक्ष भनेको हस्ताक्षर गर्ने जन्तु मात्रै भएकाले चाहेर पनि केही काम गर्न सकिने अवस्था छैन’ उनले भने। नामाकरण समेत नभएको स्थानमा योजना जानु कुनै पनि हालतमा सहि नभएको जनप्रतिनिधि नै बताउँछन्। (दिनेश खबरबाट)



