प्रदेश १ सरकारले आगामी आर्थिक वर्षका लागि ३२ अर्ब हाराहारीको बजेट ल्याउने




विराटनगर, ३१ जेठ– आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि प्रदेश १ सरकारले मंगलबार बजेट प्रस्तुत गर्दैछ । प्रदेशसभाको दिउँसो ३ बजे बस्ने बैठकमा आगामी आर्थिक वर्षका लागि ३२ अर्ब रुपैयाँ हाराहारीको बजेट प्रस्तुत गर्न लागेको हो ।



चालु आर्थिक वर्षका लागि सरकारले ४० अर्ब ८९ करोड ९९ लाख ४७ हजार रुपैयाँको बजेट प्रदेश ल्याएको थियो । तर आगामी आर्थिक वर्षका लागि ३२ अर्ब हाराहारीको बजेट आउने आर्थिक मामिला मन्त्रालय स्रोतले बताएको छ । बजेटको तयारी लगभग पूरा भएको मन्त्रालय स्रोतले बतायो । मंगलबार बस्ने प्रदेशभाको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री टङ्क आङ्बुहाङले प्रस्तुत गर्ने भएको छन् । उनी प्रदेशसभाको बजेट प्रस्तुत गर्ने दोस्रो मन्त्री हुनेछन् । गैर सांसदको रुपमा प्रस्तुत गर्ने पहिलो मन्त्री बन्नेछन् ।


तत्कालिन माओवादी केन्द्र संसदीय दलका नेता आङ्बुहाङ नेकपा विभाजनपछि एमालेमा प्रवेश गरेका थिए । एमाले प्रवेश गरेपछि उनलाई माओवादी केन्द्रले सांसद पदबाट हटाएको थियो । स्वास्थ्य क्षेत्रलाई प्राथमिकता राखिएको बजेटमा नयाँ र महत्वकाङ्क्षी योजनालाई प्राथमिकता नदिने मन्त्री आङ्बुहाङले बताएका थिए ।



