महाकाली अस्पताललाई प्रादेशिक अस्पताल बनाउने निर्णय





कञ्चनपुर, २० जेठ- सुदूरपश्चिम प्रदेश सरकारले महाकाली अस्पताललाई प्रादेशिक अस्पताल बनाउने निर्णयmaha गरेको छ ।
सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद् बैठकले बुधबार अस्पताललाई प्रादेशिक बनाउने निणर्य गरेको हो । यसअघि महाकाली अञ्चल अस्पताल प्रदेश सरकार मातहत आएपछि महाकाली अस्पताल बनाइएको थियो ।


कञ्चनपुरका प्रदेशसभा सदस्य लालबहादुर खड्का सामाजिक विकासमन्त्री भएपछि महाकाली अस्पताललाई प्रादेशिक अस्पताल बनाइएको हो । मन्त्री खड्काको प्रस्तावमा मन्त्रिपरिषद्ले प्रादेशिक बनाउने निणर्य गरेको हो । अघिल्लो हप्ता मन्त्री भएका खड्काको महाकाली अस्पताल बनाउने यो पहिलो निणर्य हो । “मन्त्री भएपछि महाकाली अस्पताल बनाउने पहिलो निणर्य गरिएको छ”, मन्त्री खड्काले भने, “अब महाकाली पनि सेती अस्पतालकै हैसियतमा आएको छ ।”


महाकाली अस्पताललाई प्रादेशिक बनाउन महाकाली अस्पताल व्यवस्थापन समितिले शुरुदेखि प्रदेशसभा सदस्यलाई दबाब दिँदै आएको थियो । “महाकाली अस्पताललाई प्रादेशिक बनाउन शुरुदेखि नै आवाज उठ्दै आएको थियो । आज त्यसलाई सम्बोधन गरिएको छ”, मन्त्री खड्काले भने ।

महाकाली प्रादेशिक अस्पताल भएपछि सेती अस्पतालझै सेवा सुविधा विस्तार, जनशक्ति व्यवस्थापन, भौतिक पूर्वाधार निर्माण लगायतका कार्य हुने छन । प्रदेश सरकारको निणर्यपछि सुदूरपश्चिम प्रदेशमा महाकाली र सेती गरी दुई प्रादेशिक अस्पताल भएका छन् ।
यसअघि प्रदेश सरकारले सेतीलाई प्रादेशिक र कैलालीको टीकापुरलाई उपप्रादेशिक अस्पताल बनाएको थियो । महाकाली अस्पताललाई टीकापुर सरह उपप्रादेशिक बनाउन प्रदेश सरकार इच्छुक देखिएको थियो । महाकाली अस्पताल व्यवस्थापनले उपप्रादेशिकमा विमति राखेपछि महाकाली अस्पताल बनाइएको थियो ।
महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशी बोक्सरले प्रादेशिक बनाउनुपर्ने माग सम्बोधन गरिएको बताए । “प्रादेशिक बनाउनुपर्ने माग विगतदेखि राख्दै आएको थियो । यसपटक मन्त्रीले माग पूरा गरिदिए”, अध्यक्ष जोशीले जानकारी दिए । ।
अध्यक्ष जोशी प्रदेश र सङ्घीय सरकारसित समन्वय गरी महाकाली अस्पताल सुधारमा लालेका छन् । चिकित्सक नहुने अस्पतालमा अहिले विशेषज्ञ सहित २८ जना कार्यरत छन् । विसं २०३४ मा प्राथमिक स्वास्थ्य केन्द्रबाट स्थापना गरिएको महाकाली अञ्चल अस्पताल विक्रम सम्वत २०४३ मा अञ्चल अस्पताल बनेको थियो ।



