पत्रकार महासङ्घद्वारा राष्ट्रपतिलाई बधाई

काठमाडौं- नेपाल पत्रकार महासङ्घले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई बधाई ज्ञापन गरेको छ। राष्ट्रपति भवन शीतल निवासमा पुगेर महासङ्घको प्रतिनिधिमण्डलले राष्ट्रपतिलाई सफल कार्यकालको शुभकामना दिएको हो।

त्यस अवसरमा महासङ्घका अध्यक्ष विपुल पोख्रेलले यही चैत १७ गते लुम्बिनीमा हुने ‘मिडिया सम्मेलन’मा राष्ट्रपति पौडेललाई प्रमुख अतिथिका रुपमा आमन्त्रण गरे। भेटमा महासङ्घको प्रतिनिधिमण्डलले राष्ट्रपतिलाई पत्रकारको अवस्था र नेपाली पत्रकारजगतले भोग्दै आएका समस्याबारे जानकारी गराएको थियो।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

त्यस क्रममा राष्ट्रपति पौडेलले सही र सत्यतथ्य सूचना प्रवाहमा छाता सङ्गठनका रुपमा महासङ्घले निर्वाह गरेको भूमिकाको सराहना गरे। उनले सत्यतथ्य सूचना प्रवाहमा महासङ्घले नेतृत्वदायी भूमिका निर्वाह गरोस् भनी कामना गरे।

समाजमा भएका विकृति, विसङ्गतिप्रति पत्रकारजगत सचेत भएर कलम चलाइरहनुपर्नेमा उनको जोड थियो। “गतल सूचना प्रवाह हुँदा समस्या पैदा हुन सक्छ, त्यसप्रति पत्रकारजगत सचेत रहेर सही सूचना दिनुपर्छ”, उनले भने।

महासङ्घका अध्यक्ष पोख्रेलले नेपाली पत्रकारको समस्या, अवस्थाका बारेमा राष्ट्रपति पौडेल जानकार भएको बताए। भेटमा महासङ्घका महासचिव रोशन पुरीलगायत पदाधिकारी सहभागी थिए।

 

Loading...