पृथ्वी शाहसहित ६ जना पुर्पक्षका लागि थुनामा

काठमाडौं – ठगी, सार्वजनिक लिखत कीर्ते र संगठित अपराध सम्बन्धी कसूरमा पृथ्वीबहादुर शाहसहित ६ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतले आदेश दिएको छ । जिल्ला अदालत, काठमाडौंले शाहसहित ६ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । पक्राउ परेका ७ प्रतिवादीमध्ये भक्तपुरकी २४ वर्षीया विनिता तामाङलाई चाहिँ ५० हजार रुपैयाँ धरौटीमा छाड्ने आदेश भएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले जनाएको छ ।

अदालतको आदेशपछि सोमबार पृथ्वीसहित उनका भाइ विजयविक्रम शाह, सहयोगी अनुप खड्का, चक्रबहादुर खत्री, रुक्मांगत काफ्ले र रंगबहादुर साउद पुर्पक्षका लागि कारागार चलान भएका छन् । प्रकरणमा संलग्न १३ जना भने अझै फरार छन् ।

Navadurga sun
Godawari sandesh

फरार रहनेमा अछामका देवेन्द्र ढुंगाना, रामेछापका सागर आले मगर, कैलालीका लक्ष्मण रेग्मी, रामेछापका विनोद सुन्दार, काठमाडौं सानु ठकुरी, अविन परियार, राजुकमार ठकुरी, सन्तोष पाण्डे, अञ्जना रजक भण्डारी, किशोर सिंह, तरुण शाह, शिवकुमार पाण्डे र देवेन्द्रबहादुर शाह छन् । अमेरिकामा अनलाइनमार्फत ठगी गरेको रकम नेपाल ल्याएको आरोपमा शाहलाई सीआईबीले पक्राउ गरेको थियो । उनीहरुविरुद्ध व्यूरोमा २४ वटा उजुरी परेको थियो ।

Dadeldhura hospital

पृथ्वीबहादुर शाहको समूहमा रहेका व्यक्तिहरुले संगठित रुपमा अवैध सम्पत्ति आर्जन गर्ने उद्देश्यले २४ भन्दा बढी कम्पनी खडा गरेका सीआईबीको अनुसन्धानले देखाएको छ । उनीहरुले कम्पनीको उद्देश्य विपरीत आधिकारिक निकायबाट विदेशी लगानी भित्राउने अनुमति नलिएको तर विदेशबाट रकम ल्याइरहेको पाइएको थियो ।

उनीहरुले अमेरिकी नागरिकसम्म एन्टी भाइरस अपडेट, अमेजनको विल भुक्तानीलगायतका विभिन्न निहुँमा सम्पर्क स्थापित गरेका थिए । त्यसपछि रिमोट एक्सेसबाट पीडितहरुको डिभाइसमार्फत ब्यांक एकाउन्टमा पहुँच बनाएर खाताको रकम नेपाल र थाइल्याण्ड पठाएका सीआईबीले जनाएको छ ।

शाहको समूहले काठमाडौं महानगरपालिका–७ मा खरिद गरेको एउटा जग्गामा लिखत मूल्य कम देखाई राजस्व र लाभ कर छलेको पनि सीआईबीले जनाएको छ । कम्पनी रजिस्ट्रारको कार्यालयमा कम्पनी दर्ता गर्दा सञ्चालक भागवत सुवेदीको कीर्ते औंठाछाप लगाएको, उक्त कम्पनी नामसारी हुँदै रुक्मांगत काफ्लेबाट अनुप खड्काको नाममा सञ्चालनमा रहेको तर आर्थिक कारोबार पृथ्वीले गर्ने गरेको सीआईबीले अनुसन्धानबाट खुलेको छ ।

उनीहरुबाट कूल ५६ जना ठगीमा परेको र तीमध्ये २४ जनाले उजुरी दिएको सीआईबीको भनाइ छ । पीडितले आफूहरुको २८ लाख ९२ हजार ३९० अमेरिकी डलर ठगी भएको बताएका छन् । शाहको समूहले ठगी गरी नेपाल ल्याएको रकम ३८ करोड ८६ लाख ६२ हजार १३६ रुपैयाँ रहेको सीआईबीले बताएको छ ।

Loading...