डडेल्धुरा- डडेल्धुरामा ‘लार्भा खोज र नष्ट गर’ अभियान सुरु गरिएको छ। पछिल्लो समय लामखुट्टेको टोकाइबाट डेंगुका बिरामी बढ्न थालेँसगै डेंगु नियन्त्रणका लागि ‘लार्भा खोज र नष्ट गर’ अभियान थालिएको हो। स्वास्थ्य कार्यालय डडेल्धुराको आयोजनामा मंगलबारदेखि लामुखुट्टेको ‘लार्भा खोज र नष्ट गर’ अभियान सुरुवात गरेको छ। लामखुट्टेको बासस्थान सरसफाई गर्ने र लार्भा नष्ट गर्ने अभियान चलाइएको जिल्ला स्वास्थ्य कार्यालयका डडेल्धुराका प्रमुख केशरबहादुर साउदले जानकारी दिए।
डेंगु नियन्त्रणका लागि निदानात्मक तथा उपचारात्मक विधि र सचेतनाका लागि घरदैलो कार्यक्रम गरी पानी जम्न नदिन, पानी जम्ने ठाउँ पुर्न, टायर, पानीका बोतल, गमला, फूलदानी, फ्रिजजस्ता पानी जम्मा हुने ठाउँमा सरसफाइ गर्न सर्वसाधारणलाई समेत सुझाव दिइएको छ। विशेष गरी वर्षाको पानी जम्ने जथाभावी फालेका बोतल, टिनका भाँडा, थोत्रो टायर, अलकत्रा वा मट्टितेलका खाली ड्रम, गमला, पानीका ट्यांकी आदिमा लामखुट्टे फूल पार्नेगरेको स्वास्थ्य कार्यालय डडेल्धुराका प्रमुख साउदले बताए।

सहरी क्षेत्रमा यस्ता वस्तु थुप्रै हुने भएकाले पनि यसको बढी जोखिम रहेको अमरगढी नगरपालिका आसपासका क्षेत्रमा सरसफाईका साथै पानी जम्ने ठाउँमा लार्भा नष्ट गर्ने अभियान थालिएको उनले बताए। विशेषगरी साँझ बिहानको समयमा सक्रिय हुने ुएडिज एजिप्टी र एडिस एल्बोपिक्टसु प्रजातिको लामखुट्टेको टोकाइबाट डेंगुको संक्रमण फैलिने गरेको स्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक हरिप्रसाद भट्टले जनाए।
उच्च ज्वरो आउने, टाउको, आँखाको गेडी, ढाड, शरीर, घुँडाका जोर्नी दुख्ने, पिँडौलाको मासु दुख्ने आदि डेंगुका लक्षण हुन्। जटिल प्रकृतिको डेंगुको संक्रमण भएका बिरामीमा थकान महसुस हुने, गिजाबाट रगत बग्ने, पेट असाध्यै दुख्ने, बारम्बार बान्ता हुने, सास फेर्न गाह्रो हुने, पेट र खुट्टा सुनिनेस्ता लक्षण देखापर्ने गरेको स्वास्थ्यकर्मी बताए।डडेल्धुरामा अहिले डेंगु संक्रमित ३० बिरामी उपचार गरि रहेका छन्। जसमध्ये १६ जना अमरगढी नगरपालिकाका छन्।
