सुदूरपश्चिमका सहुलियत पसलमा १ करोड ७६ लाखभन्दा बढीको कारोबार
चिनीको बिक्री सबैभन्दा बढी, बजार मूल्यभन्दा प्रतिकिलो ४० रुपैयाँ सस्तोमा चिनी उपलब्ध
सुदूरपश्चिम प्रदेशमा दसैँ, तिहार र छठ पर्वलाई लक्षित गरी सञ्चालन गरिएका सहुलियत पसलबाट १ करोड ७६ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ। बजार मूल्यभन्दा सस्तोमा दैनिक उपभोग्य सामग्री उपलब्ध गराइएपछि सहुलियत पसलबाट उपभोक्ता लाभान्वित भएका छन्।




साल्ट ट्रेडिङ कर्पोरेसनले असोज १ गतेदेखि सञ्चालन गरेका सहुलियत पसलबाट उक्त रकम बराबरको कारोबार भएको हो। प्रदेशका धनगढी, अत्तरिया, बेलौरी, डडेल्धुरा, दीपायल, बैतडी, महेन्द्रनगर र टीकापुर गरी आठ स्थानमा सहुलियत पसल सञ्चालनमा रहेका छन्।





साल्ट ट्रेडिङको प्रादेशिक कार्यालय धनगढीका प्रमुख तेजबहादुर कुँवरका अनुसार सहुलियत पसलमा सबैभन्दा बढी चिनी बिक्री भएको छ। यस अवधिमा १ करोड ४२ लाख ११ हजार ५ सय रुपैयाँको चिनी बिक्री भएको छ। त्यस्तै, ११ लाख ५१ हजार २ सय ८ रुपैयाँको आयोडिनयुक्त नुन र १२ लाख १५ हजार ६ सय ४५ रुपैयाँको तेल बिक्री भएको छ।


यसैगरी, १ लाख ३२ हजार ८ सय ४० रुपैयाँको चिउरा, ३ हजार ५ सय रुपैयाँको चनाको दाल, ४ हजार ८२ रुपैयाँको मासको दाल, १३ हजार २ सय रुपैयाँको मुगीको दाल र ९० हजार ४५ रुपैयाँको मुसुरोको दाल बिक्री भएको छ। त्यस्तै, १ लाख ४१ हजार ५ सय ६० रुपैयाँको लोकल रहरको दाल र १ लाख ८३ हजार ३ सय ९५ रुपैयाँको अन्य रहरको दाल बिक्री भएको प्रमुख कुँवरले जानकारी दिए।
सहुलियत पसलमा बजारमा प्रतिकिलो १ सय ४० रुपैयाँसम्म पर्ने चिनी १ सय रुपैयाँमा उपलब्ध गराइएको छ। एक जना उपभोक्ताले अधिकतम पाँच किलोसम्म चिनी खरिद गर्न पाउने व्यवस्था गरिएको छ। त्यस्तै, आयोडिनयुक्त नुन प्रतिकिलो २४ रुपैयाँ, सनफ्लावर तेल प्रतिलिटर १ सय ५० रुपैयाँ, उत्सव तेल १ सय ४५ रुपैयाँ र स्वस्तिक तोरीको तेल १ सय ४० रुपैयाँमा बिक्री भइरहेको छ।
त्यसैगरी, चिउरा प्रतिकिलो १ सय ७ रुपैयाँमा उपलब्ध गराइएको छ भने अन्य दालमा प्रतिकिलो सात रुपैयाँ छुट दिइएको प्रमुख कुँवरले बताए।
बजार मूल्यभन्दा सस्तोमा खाद्यान्न तथा दैनिक उपभोग्य सामग्री खरिद गर्न पाएपछि उपभोक्तालाई चाडपर्वको खर्च व्यवस्थापनमा राहत पुगेको छ। विशेषगरी बजारमा महँगो पर्ने चिनी सहुलियत मूल्यमा उपलब्ध भएपछि उपभोक्ताको आकर्षण बढेको साल्ट ट्रेडिङले जनाएको छ।
साल्ट ट्रेडिङ कर्पोरेसनले सञ्चालन गरेका सहुलियत पसल कात्तिक ३० गतेसम्म सञ्चालन हुनेछन्।




