धनगढी- सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को बजेट ल्याउने तयारी अन्तिम चरणमा पुर्याएको छ। प्रदेश सरकारले बुधबार प्रदेशसभामा बजेट पेस गर्ने गरी तयारी अघि बढाएको जनाएको छ।
प्रदेश सरकारका प्रवक्ता एवं उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री प्रकाश रावलले बुधबारसम्म प्रदेशसभामा बजेट प्रस्तुत गर्ने गरी बजेट निर्माणको काम अन्तिम चरणमा पुगेको जानकारी दिए।

उनका अनुसार आर्थिक मामिला मन्त्रालयले उपलब्ध गराएको बजेट सिलिङअनुसार विषयगत मन्त्रालयहरूले यसअघि तय भएका वार्षिक कार्यक्रमलाई संशोधन तथा आवश्यकताअनुसार परिमार्जन गरी बजेट प्रणालीमा योजना इन्ट्री गरेका छन्। केही मन्त्रालयले भने अझै योजना इन्ट्री गर्न बाँकी रहेको मन्त्री रावलले बताए।


सरकारले बुधबार प्रदेशसभामा बजेट प्रस्तुत गर्ने तयारी गरेपछि प्रदेशसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकसमेत बोलाइएको छ। बैठक मंगलबार बिहान ११ बजे सभामुख भीमबहादुर भण्डारीको कार्यकक्षमा बस्ने तय भएको छ। उक्त बैठकले प्रदेशसभाको बैठक बोलाउने विषयमा आवश्यक निर्णय गर्नेछ।
यसअघि तत्कालीन मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको सरकारले ल्याएको चालु आर्थिक वर्षको बजेट प्रदेशसभाबाट पारित हुन नसकेपछि सुदूरपश्चिमको राजनीतिक समीकरणमा परिवर्तन आएको थियो। त्यसपछि एमालेको समर्थनमा नेकपा (माओवादी केन्द्र) का खगराज भट्ट मुख्यमन्त्री बनेका थिए।
बजेट पारित हुन नसकेपछि प्रदेशमा राजस्व संकलनको काम भने रोकिएको छैन। तर बजेट पारित नभएका कारण सरकारी खर्च गर्न नसक्ने अवस्था सिर्जना भएपछि प्रदेशमा आंशिक बजेट शून्यताको अवस्था देखिएको छ।
मुख्यमन्त्री भट्टले भदौ मसान्तभित्रै बजेट ल्याउने प्रतिबद्धता जनाउँदै आएका थिए। तर तयारीमा ढिलाइ भएपछि सरकारले असोजको तेस्रो साता बजेट प्रदेशसभामा प्रस्तुत गर्ने तयारी गरेको हो।
