बैतडी- चाडपर्वका बेला यात्रुलाई सहज, सुरक्षित र व्यवस्थित रूपमा गन्तव्यसम्म पुर्याउने उद्देश्यले बैतडीमा १३ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ।
यात्रुको चाप बढ्ने तथा यात्राका क्रममा विभिन्न समस्या आउन सक्ने भएकाले सुरक्षित र सहज यात्राका लागि सहायता कक्ष स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए।

उनका अनुसार यात्रुको गुनासो सुन्ने, आवश्यक समन्वय गर्ने तथा समस्या समाधानमा सहजीकरण गर्ने उद्देश्यले सहायता कक्ष सञ्चालनमा ल्याइएको हो।


प्रहरीका अनुसार गोठालापानी, सतबाँझ, पाटन, खोडपे, गोकुलेश्वर, खोचलेक, सिमार, हरिपुरबजार, पुर्चौंडी बसपार्क, गाँजरी, रौलेश्वर, ज्याली बजार र भट्टाड गरी १३ स्थानमा सहायता कक्ष स्थापना गरिएको छ।
चाडपर्वका समयमा सार्वजनिक यातायातमा हुनसक्ने ठगी, बढी भाडा असुली, क्षमताभन्दा बढी यात्रु राख्ने तथा यात्राका क्रममा देखिने अन्य समस्याबारे यात्रुले सहायता कक्षमा गुनासो राख्न सक्ने प्रहरी निरीक्षक सिंहले बताए।
“चाडपर्वको समयमा यात्रुलाई पर्न सक्ने विभिन्न समस्या समाधान गर्न यात्रु सहायता कक्ष स्थापना गरेका हौँ,” उनले भने, “यात्रु र यातायात व्यवसायीबीच समन्वय कायम गर्दै सुरक्षित, व्यवस्थित र मर्यादित यातायात सेवा प्रवाहमा समेत सहायता पुग्ने अपेक्षा गरेका छौँ।”
सहायता कक्षबाट यात्रुले आवश्यक सूचना, परामर्श तथा सहयोग सहज रूपमा प्राप्त गर्न सक्ने प्रहरीले जनाएको छ। यात्राका क्रममा कुनै समस्या वा गुनासो भए नजिकैको सहायता कक्षमा सम्पर्क गर्न प्रहरीले यात्रुलाई आग्रह गरेको छ।
