कैलाली- कैलालीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ भने दुई जना भागेर ज्यान जोगाउन सफल भएका छन्।
गौरीगंगा नगरपालिका–६ स्थित भैरव महिला सामुदायिक वनमा बिहीबार बिहान बाघले आक्रमण गर्दा स्थानीय करिब ४० वर्षीय कृष्ण चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ।



प्रहरीका अनुसार चौधरी बिहान करिब ५ बजेतिर स्थानीय शिवलाल राना र हंस रानासँगै च्याउ खोज्न जंगल गएका थिए। सोही क्रममा बाघले उनीहरूमाथि आक्रमण गरेको थियो।
बाघको आक्रमणपछि शिवलाल र हंस भने भागेर ज्यान जोगाउन सफल भएका छन्। चौधरीको भने घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनाबारे जानकारी पाएपछि इलाका प्रहरी कार्यालय चौमालाबाट प्रहरी टोली घटनास्थल पुगेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
