अत्तरिया- कैलालीको गोदावरी नगरपालिकाले नगर क्षेत्रका विभिन्न सडक कालोपत्र, निर्माण तथा स्तरोन्नतिका लागि ८ करोड ३६ लाख १९ हजार रुपैयाँभन्दा बढीको ठेक्का आह्वान गरेको छ।
नगरपालिकाले वडा नम्बर १ देखि १२ सम्मका विभिन्न सडकलाई समेटेर १३ वटा प्याकेजमा बोलपत्र आह्वान गरेको हो। नगरपालिकाका अनुसार १३ वटै प्याकेजको कुल अनुमानित लागत ८ करोड ३६ लाख १९ हजार ३ सय ३२ रुपैयाँ रहेको छ।

ठेक्का प्रक्रियामार्फत नगरका विभिन्न वडामा सडक कालोपत्र, नयाँ सडक निर्माण तथा स्तरोन्नतिको काम अघि बढाइनेछ।


सबैभन्दा बढी लागतको प्याकेज गोदावरी–११ का विभिन्न स्थानका सडक कालोपत्रका लागि रहेको छ। उक्त कामका लागि ७७ लाख ९७ हजार ८ सय ३९ रुपैयाँ लागत अनुमान गरिएको छ।
त्यस्तै, वडा नम्बर २ का विभिन्न स्थानमा सडक कालोपत्रका लागि ७६ लाख ५२ हजार ४ सय १२ रुपैयाँ र वडा नम्बर ३ का सडकका लागि ७४ लाख ८ हजार ७ सय ५ रुपैयाँ लागत अनुमान गरिएको नगरपालिकाले जनाएको छ।
नगरपालिकाले सडकको आवश्यकता र प्राथमिकताका आधारमा विभिन्न वडाका सडकलाई छुट्टाछुट्टै प्याकेजमा विभाजन गरी ठेक्का प्रक्रिया अघि बढाएको हो।
सडक कालोपत्र तथा स्तरोन्नतिको काम सम्पन्न भएपछि गोदावरी नगरपालिकाका ग्रामीण तथा बजार क्षेत्रका सडकको अवस्था सुधार हुनुका साथै स्थानीय बासिन्दाको आवागमन सहज हुने अपेक्षा गरिएको छ।
