चाडपर्व लक्षित बजार अनुगमन तीव्र, अत्तरियाबाट म्याद नाघेका खाद्यवस्तु बरामद

अत्तरिया- चाडपर्व नजिकिएसँगै कैलालीको गोदावरी नगरपालिकाले बजार अनुगमनलाई तीव्रता दिएको छ। खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण कार्यालय धनगढीको सहकार्यमा नगरपालिकाले बुधबार अत्तरियाको बजार क्षेत्रमा अनुगमन गरेको हो।

अनुगमनका क्रममा विभिन्न होटल तथा खाद्य व्यवसायबाट स्वास्थ्यका लागि उपयुक्त नमानिएका प्लास्टिकका चपिङ बोर्ड बरामद गरिएको छ। नगरपालिकाले खाद्य सामग्री काट्न तथा तयारी गर्न काठका चपिङ बोर्ड प्रयोग गर्न व्यवसायीलाई निर्देशन दिएको जनाएको छ।

Navadurga sun

त्यस्तै किराना तथा खाद्य सामग्री बिक्री गर्ने पसलबाट १६ प्याकेट म्याद नाघेका भुजा, ढुसी लागेको मिठाई तथा सडेगलेका खाद्यवस्तु फेला परेको थियो। बरामद गरिएका अखाद्य तथा म्याद नाघेका सामग्री अनुगमन टोलीले नष्ट गरेको छ।

नगरपालिकाकी उपप्रमुख शारदा देवी रोकायाले चाडपर्वका बेला खाद्य सामग्रीको बिक्री–वितरण बढ्ने भएकाले गुणस्तर र स्वच्छता कायम गराउन अनुगमनलाई तीव्रता दिइएको बताइन्। उपभोक्ताको स्वास्थ्य तथा हित संरक्षणका लागि नियमित रूपमा बजार अनुगमनलाई निरन्तरता दिने उनले बताइन्।

उनले उपभोक्तालाई खाद्य सामग्री खरिद गर्दा उत्पादन मिति, उपभोग्य मिति, लेबल, प्याकेजिङ तथा गुणस्तरसम्बन्धी विवरण जाँच गरेर मात्र खरिद गर्न आग्रह गरिन्। म्याद नाघेका वा अखाद्य वस्तु बिक्री भइरहेको भेटिएमा नगरपालिका वा सम्बन्धित निकायलाई जानकारी गराउनसमेत उनले आग्रह गरिन्।

गोदावरी–१ का वडाध्यक्ष तथा नगर प्रवक्ता गोपाल दत्त भट्टले चाडपर्वका समयमा बजारमा किनमेल बढ्ने भएकाले अखाद्य तथा गुणस्तरहीन वस्तुको बिक्री रोक्न समयमै अनुगमन गरिएको बताए। उनले उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएका दैनिक उपभोग्य वस्तुको गुणस्तर कायम गरेर मात्र बिक्री गर्न व्यवसायीलाई आग्रह गरे।

खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण कार्यालय धनगढीका नायब प्राविधिक सहायक तोयनाथ ओझाले नगरपालिकाको आह्वानमा नगर क्षेत्रका विभिन्न बजारमा अनुगमन भइरहेको जानकारी दिए। उनका अनुसार अनुगमनका क्रममा म्याद सकिएका मरमसला, खाद्य तथा पेय पदार्थलगायत सामग्री बरामद गरिएको छ।

नगरपालिकाले बजार अनुगमन मुख्य बजार क्षेत्रमा मात्र सीमित नराखी आवश्यकता अनुसार वडा–वडामा समेत निरन्तरता दिने जनाएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...