अत्तरिया- कृष्णपुर नगरपालिकाले शिक्षामा पहुँच विस्तार तथा गुणस्तर सुधार गर्ने उद्देश्यले नगर क्षेत्रका ६ वटा सामुदायिक विद्यालयलाई एक–एक वटा विद्यार्थी बस हस्तान्तरण गरेको छ।
नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ को बजेटबाट आन्तरिक स्रोतमा रकम विनियोजन गरी खरिद गरेका बस बुधबार सम्बन्धित विद्यालयका प्रधानाध्यापकलाई हस्तान्तरण गरिएको हो। नगरप्रमुख हेमराज ओझाले बस हस्तान्तरण गरेका हुन्।

बस पाउने विद्यालयमा राष्ट्रिय माध्यमिक विद्यालय पहरिया, उदय माध्यमिक विद्यालय बंक, नन्दा माध्यमिक विद्यालय देखतभुली, कृष्ण माध्यमिक विद्यालय गुलरिया, महाकाली माध्यमिक विद्यालय र वीणा माध्यमिक विद्यालय विचुवा रहेका छन्।
नगरपालिकाका अनुसार टेन्डर प्रक्रियामार्फत ५० सिट क्षमताका २०२६ मोडल तथा ३ हजार २०० सीसीका बस खरिद गरिएको हो। प्रत्येक बसको लागत अनुमान करिब ५४ लाख रुपैयाँ रहे पनि प्रतिस्पर्धात्मक बिडिङमार्फत करिब ४५ लाख ४५ हजार रुपैयाँमा खरिद सम्झौता भएको नगरप्रमुख ओझाले बताए। बस सिपर्दी ट्रेडिङ प्रालिमार्फत खरिद गरिएको हो।


नगरप्रमुख ओझाका अनुसार बस खरिद प्रक्रियामा टाटा, अशोक लेल्यान्ड र आइचर कम्पनी सहभागी भएका थिए। खरिद प्रक्रियामा केही ढिलाइ भएकाले बस हस्तान्तरणमा समय लागेको उनले बताए।
दूरदराजका बस्तीबाट विद्यालय आउने विद्यार्थीलाई आवतजावतमा सहज बनाउन बस उपलब्ध गराइएको नगरप्रमुख ओझाले बताए। “टाढाका बस्तीबाट विद्यालय आउन विद्यार्थीलाई समस्या हुने भएकाले बस खरिद गरेर विद्यालयलाई हस्तान्तरण गरेका हौँ। यसले विद्यार्थीको नियमित उपस्थिति र शैक्षिक गुणस्तर सुधारमा सहयोग पुग्ने विश्वास छ,” उनले भने।
विद्यालयले बस सञ्चालन गर्न सक्ने सुनिश्चिततापछि मात्रै बस हस्तान्तरण गरिएको नगरपालिकाले जनाएको छ। विद्यालयको दूरी, विद्यार्थीको अवस्था तथा साना बालबालिकालाई हुने आवतजावतको कठिनाइलाई मध्यनजर गर्दै बस व्यवस्थापन गरिएको हो।
नगरपालिकाले शिक्षा क्षेत्र सुधारका अन्य कार्यक्रमलाई समेत प्राथमिकता दिएको जनाएको छ। आवश्यकताअनुसार प्रधानाध्यापक, शिक्षक तथा नगर शिक्षकको दरबन्दी मिलान गर्नुका साथै विद्यालयमा सूचना तथा सञ्चार प्रविधि (आईसीटी) सामग्रीसमेत उपलब्ध गराइएको नगरप्रमुख ओझाले बताए।
बस सञ्चालनमा आएपछि टाढाटाढाबाट विद्यालय आउने विद्यार्थीलाई सहज हुने तथा विद्यार्थीको नियमित उपस्थितिमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।
बस हस्तान्तरण कार्यक्रममा नगरप्रमुख हेमराज ओझा, उपप्रमुख द्रोपती राना, विभिन्न वडाका वडाध्यक्ष, विद्यालयका प्रतिनिधि, शिक्षक तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो।
