गोदावरी नगरपालिकाले माग्यो नगर गान, उत्कृष्ट रचयितालाई ७० हजार

अत्तरिया- कैलालीको गोदावरी नगरपालिकाले नगर गान तयार गर्नका लागि रचना आह्वान गरेको छ। नगरपालिकाले मंगलबार सूचना जारी गर्दै इच्छुक रचनाकारलाई आगामी असोज २७ गतेभित्र नगर गान रचना गरी पठाउन आग्रह गरेको हो।

प्रमुख प्रशासकीय अधिकृत धर्मराज विनाडीद्वारा जारी सूचनामा उत्कृष्ट नगर गान रचना गर्ने रचयितालाई ७० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने उल्लेख गरिएको छ।

Navadurga sun

नगरपालिकाले नगर गान तयार गर्ने निर्णय भदौ १८ गते बसेको १४५औँ कार्यपालिका बैठकबाट गरेको थियो। त्यसअघि नगर गान तयार गर्ने सम्बन्धी ‘गोदावरी नगर गान तयार गर्ने सम्बन्धी मापदण्ड, २०८२’ समेत तयार गरिएको थियो।

सोही मापदण्डका आधारमा नगर गान रचना गरी नगरपालिकाको इमेलमार्फत पठाउन नगरपालिकाले आह्वान गरेको हो।

मापदण्डअनुसार नगर गानको मूल्याङ्कनका लागि प्रमुख प्रशासकीय अधिकृतको संयोजकत्वमा चार सदस्यीय समिति गठन गरिनेछ। समितिमा संगीत विधाका एक जना विज्ञ, साहित्य/भाषाविद्/समाजशास्त्रीमध्ये एक जना, नगरपालिकाको सामाजिक विकास समितिका संयोजक र शिक्षा, युवा तथा खेलकुद शाखाका अधिकृतस्तरका कर्मचारी रहने व्यवस्था गरिएको छ।

नगर गान छनोट भएपछि त्यसमा संगीत भर्नका लागि प्रमुख प्रशासकीय अधिकृतकै संयोजकत्वमा दुई जना संगीत विधाका विज्ञ सम्मिलित समितिले उत्कृष्ट संगीतकार छनोट गर्नेछ।

नगरपालिकाका अनुसार उत्कृष्ट संगीतकारलाई ८० हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ।

नगरपालिकाले गोदावरीको मौलिकता, इतिहास, संस्कृति, सामाजिक पहिचान र समग्र नगरको भावनालाई समेट्ने गरी नगर गान तयार गर्न इच्छुक रचनाकार तथा संगीतकर्मीलाई सहभागी हुन आग्रह गरेको छ।

 

 

ADD Khali jpg
ADD Khali jpg
Loading...