कैलालीमा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान तीव्र

धनगढी- देशभर जापानिज इन्सेफलाइटिस (जेई) संक्रमण र यसबाट हुने मृत्यु बढ्दै गएपछि कैलालीमा जेईविरुद्धको खोप अभियानलाई तीव्र पारिएको छ।

अभियानअन्तर्गत धनगढी उपमहानगरपालिका, लम्कीचुहा नगरपालिका र घोडाघोडी नगरपालिकामा ३० वर्ष वा सोभन्दा माथिका नागरिक तथा स्वास्थ्यकर्मीलाई जेईविरुद्धको खोप लगाउन थालिएको हो।

Navadurga sun

क्युलेक्स जातको संक्रमित लामखुट्टेको टोकाइबाट सर्ने जेईको जोखिम धानखेत, पानी जम्ने स्थान तथा सुँगुर र हाँस पालिने क्षेत्र आसपास बढी हुने सेती प्रादेशिक अस्पतालका इमर्जेन्सी विभाग प्रमुख डा. अनिरुद्र थपलियाले बताए।

उनका अनुसार जेई संक्रमण हुँदा टाउको दुख्ने, ज्वरो आउने, हातखुट्टा कमजोर हुने र बेहोस हुनेजस्ता लक्षण देखिन सक्छन्। संक्रमण गम्भीर भएमा मस्तिष्कमा असर पुग्नुका साथै मृत्यु र दीर्घकालीन स्नायुसम्बन्धी समस्या हुन सक्ने उनले बताए।

कैलालीमा हालसम्म जेईका नयाँ बिरामी फेला नपरे पनि अन्य क्षेत्रमा संक्रमण देखिनु र मौसमी अवस्थाका कारण जोखिम कायम रहेकाले खोप अभियानलाई तीव्रता दिइएको डा. थपलियाले जानकारी दिए।

सेती प्रादेशिक अस्पतालमा मात्रै आइतबार बिहानसम्म ३० वर्षभन्दा माथिका ९ सयभन्दा बढी व्यक्तिले जेईविरुद्धको खोप लगाइसकेका छन्।

जेईबाट बच्न खोप लगाउनु सबैभन्दा प्रभावकारी उपाय भएको डा. थपलियाले बताए। उनले लामखुट्टेको टोकाइबाट बच्न, घर वरिपरि पानी जम्न नदिन तथा सरसफाइमा ध्यान दिन आग्रह गर्दै उमेर पुगेका सबै नागरिकलाई खोप लगाउन अनुरोध गरेका छन्।

ADD Khali jpg
ADD Khali jpg
Loading...