धनगढी- सुदूरपश्चिमको मौलिक कला, संस्कृति तथा परम्पराको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले धनगढीमा ‘नौ रङ्ग सुदुरको तरङ्ग’ एकदिने खुला समूह नृत्य प्रतियोगिता आयोजना हुने भएको छ।
द प्यासन अफ डान्सको आयोजनामा प्रतियोगिता २०८३ असोज १० गते शनिबार धनगढीको उत्तरबेहडीस्थित रिद्धि सिद्धि प्यालेसमा हुने भएको हो। प्रतियोगिता बिहान १० बजेदेखि सुरु हुने आयोजकले जनाएको छ।

द प्यासन अफ डान्सका सञ्चालक अनिल खत्रीका अनुसार सुदूरपश्चिममा प्रचलित लोकप्रिय तथा रैथाने नाचको उत्थान, संरक्षण र प्रवद्र्धन गर्दै मौलिक संस्कृति नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो।
प्रतियोगितामा विशेषगरी सुदूरपश्चिमका स्थानीय तथा रैथाने नाचलाई प्राथमिकता दिइनेछ। विद्यालय, कलेज, नृत्य समूह तथा कलाकारहरूलाई सहभागी गराउने लक्ष्य आयोजकले राखेको छ।
प्रतियोगितामा प्रथम हुने समूहले २० हजार रुपैयाँ नगदसहित ट्रफी र प्रमाणपत्र, द्वितीय हुने समूहले १५ हजार रुपैयाँ नगदसहित ट्रफी र प्रमाणपत्र तथा तृतीय हुने समूहले १० हजार रुपैयाँ नगदसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन्। सान्त्वना पुरस्कारका रूपमा निःशुल्क नृत्य प्रशिक्षणको व्यवस्था गरिएको आयोजकले जनाएको छ।


प्रतियोगितामा सहभागी प्रत्येक समूहमा कम्तीमा २ जना र बढीमा १० जना सदस्य हुनुपर्नेछ। नृत्य तथा संस्कृति क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति तथा सहभागिता रहने आयोजक खत्रीले बताए।
प्रतियोगितामा दर्शकका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ। साथै, कार्यक्रमलाई सहयोग गर्ने प्रायोजक तथा सहयोगी संघ–संस्थालाई विशेष सम्मान गरिने आयोजकले जनाएको छ।
प्रतियोगिताको नियमित दर्ता शुल्क २ हजार रुपैयाँ तोकिएको छ। निर्धारित समयपछि प्रतियोगिता सुरु हुनुभन्दा एक घण्टाअघिसम्म दर्ता गर्ने समूहका लागि भने २ हजार ५ सय रुपैयाँ शुल्क लाग्नेछ।
इच्छुक समूहले द प्यासन डान्स स्टुडियो, पुष्पलाल चोक, बुद्ध मन्दिर नजिक, धनगढीमा पुगेर दर्ता गर्न सक्नेछन्। उपस्थित हुन नसक्ने टोलीले आयोजकले उपलब्ध गराएको सम्पर्क नम्बरमार्फत अनलाइन दर्तासमेत गर्न सक्ने व्यवस्था गरिएको छ।
आयोजकले ‘नौ रङ्ग सुदुरको तरङ्ग’लाई सुदूरपश्चिमको मौलिक कला, संस्कृति तथा परम्पराको संरक्षण र प्रवद्र्धन गर्ने अभियानका रूपमा अघि बढाएको जनाएको छ। प्रतियोगितालाई सफल बनाउन विभिन्न संघ–संस्था तथा प्रायोजकहरूले सहयोग गरिरहेका छन्।
आयोजकले सुदूरपश्चिमका विद्यालय, कलेज, नृत्य समूह तथा कलाकारहरूलाई प्रतियोगितामा सक्रिय सहभागिताका लागि आग्रह गरेको छ।
