काठमाडौं- देशभर मनसुनी वायुसँगै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा हाल सरदर स्थानभन्दा दक्षिणतर्फ रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार उत्तर अन्डमान सागर तथा आसपासको क्षेत्रमा न्यून चापीय प्रणाली विकसित भएको छ। उक्त प्रणाली आगामी दिनमा थप बलियो हुँदै पश्चिम–उत्तरपश्चिम दिशातर्फ सर्ने सम्भावना रहेको छ।

हाल देशका विभिन्न भूभागमा बदली भएको छ। कोशी र बागमती प्रदेशका सबै भूभाग तथा गण्डकी प्रदेशका हिमाली र पहाडी क्षेत्रमा बादल लागेको छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा साधारणतया बदली रहेको छ भने मधेस प्रदेशमा आंशिक बदली रहेको छ।
कोशी र बागमती प्रदेशका थोरै स्थान तथा गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। देशका अन्य भूभागमा भने मौसम मुख्यतया सफा रहेको छ।
सोमबार कहाँ–कहाँ वर्षाको सम्भावना?


सोमबार हिमाली तथा पहाडी भूभाग, मधेस प्रदेश तथा बागमती र गण्डकी प्रदेशका तराई भूभागमा साधारणतया बदली रहने पूर्वानुमान गरिएको छ। कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा भने आंशिक बदली रहनेछ।
कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ। त्यस्तै, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा वा हिमपात हुनसक्ने महाशाखाले जनाएको छ।
मधेस प्रदेश तथा कोशी र बागमती प्रदेशका तराई भूभागका थोरै स्थानमा पनि वर्षाको सम्भावना रहेको छ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनसक्नेछ।
चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना
विशेषगरी कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
भारी वर्षाका कारण बाढी, पहिरो तथा डुबानको जोखिम बढ्न सक्ने भएकाले जोखिमयुक्त क्षेत्रमा आवश्यक सतर्कता अपनाउन तथा सम्भावित विपद्बाट जोगिन पूर्वतयारी अवस्थामा रहन सम्बन्धित सबैलाई आग्रह गरिएको छ।
