राष्ट्रिय विज्ञान दिवसमा अत्तरियामा जिल्ला स्तरीय विज्ञान–गणित प्रदर्शनी

कक्षा ९ का विद्यार्थीले बनाए बाइक, विद्यालयलाई सिद्धार्थ बैंकको ५ लाख सहयोग

लक्ष्मी भट्ट/अत्तरिया- राष्ट्रिय विज्ञान दिवसको अवसरमा कैलालीको गोदावरी नगरपालिका–२ अत्तरियास्थित दुर्गालक्ष्मी नमुना माध्यमिक विद्यालयमा जिल्ला स्तरीय विज्ञान तथा गणित प्रदर्शनी कार्यक्रम–२०८३ आयोजना गरिएको छ।

विद्यालयका प्रधानाध्यापक वीरसिंह महताको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गोदावरी नगरपालिका शिक्षा शाखा प्रमुख हरिस पन्त प्रमुख अतिथि रहेका थिए।

Navadurga sun

कार्यक्रममा सुदूरपश्चिम विश्वविद्यालयका सहप्राध्यापक डा. प्रेमसिंह साउद, ऐश्वर्य विद्या निकेतनका उपप्राध्यापक बद्री पौडेल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिदत्त भट्टराई, शिक्षक–अभिभावक संघका अध्यक्ष सुरतबहादुर विष्ट, इन्जिनियर सम्राट भट्टलगायतको उपस्थिति रहेको थियो।

कार्यक्रमको सञ्चालन शिक्षक लोकबहादुर खत्रीले गरेका थिए भने सहायक प्रधानाध्यापक हरिप्रसाद ओझाले स्वागत मन्तव्य राखेका थिए।

प्रदर्शनीमा विभिन्न विद्यालय तथा विद्यार्थीहरूले आफूले निर्माण गरेका विज्ञान तथा गणितसँग सम्बन्धित सामग्री, कला, सिर्जना तथा आविष्कार प्रस्तुत गरेका थिए। प्रदर्शनीमा दुर्गालक्ष्मी नमुना माध्यमिक विद्यालयका कक्षा ९ का विद्यार्थीहरूले आफ्नै मेहनत, सीप र ज्ञानको प्रयोग गरी निर्माण गरेको बाइक विशेष आकर्षण बनेको थियो।

विद्यार्थीहरूले निर्माण गरेका विभिन्न सामग्री तथा आविष्कारको निष्पक्ष मूल्याङ्कन गरी उत्कृष्ट सिर्जनाका निर्मातालाई पुरस्कार प्रदान गर्ने व्यवस्था गरिएको आयोजकले जनाएको छ।

यसैबीच, कार्यक्रममा सिद्धार्थ बैंकले दुर्गालक्ष्मी नमुना माध्यमिक विद्यालयलाई ५ लाख रुपैयाँ सहयोग गरेको छ। विद्यालयले विज्ञान तथा प्रविधिको क्षेत्रमा विद्यार्थीलाई प्रोत्साहन गर्ने यस्ता गतिविधिमा आगामी दिनमा पनि सहयोग प्राप्त हुने अपेक्षा गरेको छ।

विद्यालयका प्रधानाध्यापक वीरसिंह महताले वैज्ञानिक तथा आविष्कारमूलक कार्यक्रमले विद्यार्थीमा रहेको सिर्जनशीलता, वैज्ञानिक सोच र सीप विकासमा सहयोग पुग्ने बताए। विद्यालयले विगतदेखि नै यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै आएको र विद्यार्थीहरूले यसअघि वेबसाइटसमेत निर्माण गरिसकेको उनले जानकारी दिए।

विश्वकर्मा पूजाको अवसरसमेत रहेकाले निर्माण तथा इन्जिनियरिङसँग जोडिएको विश्वकर्मा पूजालाई विज्ञान र सिर्जनासँग जोडेर हेर्न सकिने प्रधानाध्यापक महताले बताए।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिदत्त भट्टराईले विद्यालयले विगतदेखि नै वैज्ञानिक तथा रचनात्मक गतिविधि सञ्चालन गर्दै आएको बताए। विद्यालयका गतिविधिमा सहयोग गर्ने विभिन्न संघसंस्था तथा व्यक्तिहरूको संख्या बढ्दै गएको उल्लेख गर्दै उनले सहयोगी सबैप्रति विद्यालय परिवारका तर्फबाट धन्यवाद व्यक्त गरे।

हाल दुर्गालक्ष्मी नमुना माध्यमिक विद्यालयमा करिब ४ हजार विद्यार्थी र ८५ जना शिक्षक रहेका छन्। विद्यालयले विज्ञान, प्रविधि, गणित तथा सिर्जनात्मक क्षेत्रमा विद्यार्थीको प्रतिभा पहिचान र विकासका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...