भोटेकोशी बाढीपीडितको उद्धार र राहतमा जुट्न कैलाली उद्योग वाणिज्य संघको अपिल
बाढीबाट प्रभावित नागरिक, व्यवसायी तथा परिवारप्रति समवेदना व्यक्त गर्दै सुरक्षित स्थानमा रहन आग्रह
धनगढी- नेपाल–चीन सीमा क्षेत्रअन्तर्गत भोटेकोशी नदीमा आएको भीषण बाढीबाट भएको जनधनको क्षतिप्रति कैलाली उद्योग वाणिज्य संघले गहिरो दुःख व्यक्त गरेको छ।
संघले बुधबार सार्वजनिक अपिल जारी गर्दै बाढीबाट प्रभावित नागरिक, व्यवसायी तथा परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरेको हो। साथै घाइते तथा प्रभावितहरूको शीघ्र उद्धार, उपचार र राहतका लागि सम्बन्धित सबै निकायलाई सक्रिय हुन आग्रह गरेको छ।

बाढीका कारण नदी आसपासका बस्ती, सडक, पुल, व्यावसायिक प्रतिष्ठान तथा अन्य भौतिक संरचनामा क्षति पुगेको र ठूलो संख्यामा नागरिक प्रभावित भएको भन्दै संघले विपद्को यस कठिन घडीमा प्रभावित नागरिकको जीवनरक्षालाई पहिलो प्राथमिकतामा राख्न आग्रह गरेको छ।
कैलाली उद्योग वाणिज्य संघले नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह, सुरक्षा निकाय, उद्योग वाणिज्य संघका विभिन्न तह, व्यवसायी, सामाजिक संघसंस्था, नागरिक समाज तथा आम नागरिकलाई आ–आफ्नो क्षेत्रबाट खोज तथा उद्धार, राहत वितरण र पुनःस्थापनाका कार्यमा सक्रियतापूर्वक जुट्न आह्वान गरेको छ।
त्यस्तै, भोटेकोशी तथा अन्य नदी आसपासका क्षेत्रमा रहेका नागरिक र व्यवसायीलाई सम्भावित थप जोखिमप्रति उच्च सतर्कता अपनाउन, सुरक्षित स्थानमा रहन तथा सम्बन्धित निकायको निर्देशन पालना गर्न संघले अनुरोध गरेको छ।
“विपद्मा परेकालाई सहयोग गर्नु नै हाम्रो मानवीय दायित्व हो” भन्ने भावनाका साथ सबै क्षेत्र एकजुट भएर उद्धार तथा राहत कार्यमा सहयोग गर्न संघले अपिल गरेको छ।
