भोटेकोशी बाढी प्रभावित क्षेत्रका सांसदसँग प्रधानमन्त्री शाहको छलफल
उद्धार, राहत र तटीय क्षेत्रका बस्तीको सुरक्षामा विशेष ध्यान दिन निर्देशन
काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रको अवस्था, उद्धार तथा राहत कार्यबारे प्रभावित जिल्लाका सङ्घीय सांसदहरूसँग छलफल गरेका छन्।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका सांसद सहभागी थिए। सांसदहरूले आ–आफ्नो क्षेत्रमा बाढीबाट भएको क्षति, तटीय बस्तीको अवस्था तथा उद्धार र राहतका लागि आवश्यक कदमबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए।

यसअघि प्रधानमन्त्री शाहले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बोलाएर बाढी प्रभावित क्षेत्रको पछिल्लो अवस्था, खोज तथा उद्धार र राहत कार्यको प्रगतिबारे जानकारी लिएका थिए।
छलफलमा प्रधानमन्त्री शाहले प्रभावित नागरिकको सुरक्षा तथा राहतका लागि सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताए। उनले तल्लो तटीय क्षेत्रमा थप सतर्कता अपनाउन र विस्थापित नागरिकलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न सम्बन्धित निकायलाई निर्देशन दिइसकेको जानकारी दिए।
सरकारले बाढी प्रभावित क्षेत्रमा सुरक्षा निकायका टोली परिचालन गरी खोज तथा उद्धार कार्यलाई तीव्रता दिएको जनाएको छ।
