काठमाण्डौं- सरकारले बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङलाई तीन महिनाका लागि विपत् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ।
मन्त्रिपरिषद्को बुधबार बसेको आकस्मिक बैठकले बाढीबाट प्रभावित तीन जिल्लालाई संकटग्रस्त क्षेत्र घोषणा गर्दै त्यहाँ आवश्यक सम्पूर्ण काम तत्काल अघि बढाउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिएका छन्।

बैठकले प्रभावित क्षेत्रमा आवश्यक राहत, उद्धार तथा पुनःस्थापनालगायतका काम प्रभावकारी रूपमा अघि बढाउन सम्बन्धित सबै मन्त्रालयका मन्त्रीहरूलाई आ–आफ्नो क्षेत्रअन्तर्गत आवश्यक कामको पहिचान गरी फिल्डमै खटिन निर्देशन दिएको छ।
सरकारले संकटग्रस्त घोषणा गरिएका जिल्लामा विपद् व्यवस्थापन तथा प्रभावित नागरिकलाई आवश्यक सहयोग उपलब्ध गराउने कामलाई प्राथमिकतामा राख्ने जनाएको छ।
