धनगढी- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री तथा नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले आज बुधबार दिउँसो २ बजे कांग्रेस संसदीय दलको बैठक बोलाएका छन्।
बजेटका विषयमा विवाद बढेपछि मुख्यमन्त्री शाहले गत ३१ असारमा एमालेका चार मन्त्रीलाई बर्खास्त गरेका थिए। त्यसलगत्तै नेकपा एमालेले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि शाह नेतृत्वको सरकार अल्पमतमा परेको थियो।

अल्पमतमा परेको २९औँ दिनमा शाहले संसदीय दलको बैठक बोलाएका हुन्। कांग्रेसकी प्रमुख सचेतक सरस्वती खड्काका अनुसार बैठकमा प्रदेश सरकारको आगामी अवस्थाबारे छलफल गरी निर्णय गरिनेछ।
खड्काका अनुसार मुख्यमन्त्री शाह राजीनामा दिने तयारीमा छन्। प्रदेश सभामा सम्बोधन गरेर राजीनामा घोषणा गर्ने वा प्रदेश प्रमुखसमक्ष सोझै राजीनामा बुझाउने भन्ने विषयमा बैठकमा छलफल हुनेछ।
एमालेले समर्थन फिर्ता लिएपछि सरकार टिकाउन मुख्यमन्त्री शाहले नेकपाको समर्थन खोजेका थिए। तर केन्द्रमा नेकपा र एमालेबीच सत्ता सहकार्यको सहमति भएपछि शाहको प्रयास सफल हुन सकेन।
यससँगै मुख्यमन्त्री शाह बिहीबार स्वतः पदमुक्त हुने अवस्थामा पुगेका छन्। शाह यसअघि २०७९ माघ २६ मा पहिलोपटक सुदूरपश्चिमको मुख्यमन्त्री बनेका थिए भने राजनीतिक समीकरण परिवर्तन भएपछि २०८० चैत २२ मा राजीनामा दिएका थिए।
