हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा नेपालको पश्चिमी भूभागमा सरदरभन्दा केही उत्तरतर्फ र पूर्वी भूभागमा सरदर स्थान आसपास रहेको छ।
मनसुनी वायुको प्रभावका कारण लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा अधिकांश भूभागमा बदली रहेको छ भने कोशी, बागमती र गण्डकी प्रदेशमा सामान्यतया बादल लागेको छ। मधेस प्रदेशमा आंशिक बदली रहेको छ।

हाल लुम्बिनी प्रदेशका केही स्थान तथा कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्यतया बदली रहने पूर्वानुमान छ। यी क्षेत्रका केही स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।
कर्णाली प्रदेशका पहाडी भूभागका साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भूभागका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
यस्तै, लुम्बिनी र सुदूरपश्चिमका तराई भूभागका केही स्थान तथा मधेस, कोशी, बागमती र गण्डकी प्रदेशका तराई भूभागका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ।
आज राति हिमाली तथा पहाडी भूभागमा सामान्यतया बदली र तराई क्षेत्रमा आंशिक बदली रहनेछ। हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा मध्यम वर्षा तथा तराईका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ।
भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा बाढी, डुबान तथा पहिरोको जोखिम बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।
