करदाता प्रोत्साहन उपहार योजनाको नतिजा सार्वजनिक
कञ्चनपुरका उपभोक्ताले रु. २५० को सामान खरिद गर्दा जिते रु. १० लाख, अन्य १५ जनालाई जनही रु. १ लाख उपहार
करदाता प्रोत्साहन उपहार योजनाअन्तर्गत साउन महिनाको पहिलो १५ दिनको बम्पर उपहारको नतिजा सार्वजनिक भएको छ।


कञ्चनपुरको पुनर्वासस्थित शिव कृष्ण जनरल स्टोरबाट साउन ७ गते रु. २५० को सामान खरिद गर्ने उपभोक्ताले रु. १० लाखको बम्पर उपहार जितेका छन्। कुपन नम्बर ००७ ३१५ २५४ ४९३ भएका उपभोक्ता विजेता बनेका हुन्। विजेताको नाम भने सार्वजनिक गरिएको छैन।

त्यस्तै, अन्य १५ जना उपभोक्ताले जनही रु. १ लाख उपहार जितेका छन्। आन्तरिक राजस्व विभागले आज अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा उपहार विजेताबारे जानकारी दिएको हो।
उपभोक्तामा बिल लिने बानीको विकास गराउने तथा कर प्रणालीलाई थप प्रभावकारी बनाउने उद्देश्यले करदाता प्रोत्साहन उपहार योजना सञ्चालन गरिएको विभागले जनाएको छ।
