देशभर आज पनि मनसुनी वायुको प्रभाव कायम रहेको छ। मनसुनको न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक रहेकाले देशभर सामान्यदेखि पूर्ण बदली रहने र धेरै स्थानमा वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।


विभागका अनुसार पहाडी भूभागका धेरै स्थान तथा तराईका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्र, साथै लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। हिमाली क्षेत्रमा मध्यम वर्षासँगै हिमपात पनि हुन सक्ने अनुमान गरिएको छ।

आज राति पनि देशभर बदली रहनेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना रहेको छ भने मधेशसहित अधिकांश पहाडी र तराई क्षेत्रमा मेघगर्जन/चट्याङसहित वर्षा जारी रहने अनुमान गरिएको छ।
जल तथा मौसम विज्ञान विभागले भारी वर्षा हुन सक्ने क्षेत्रमा बाढी, पहिरो, गेग्रान बहाव र भू-क्षयको जोखिम बढ्ने भएकाले सतर्क रहन आग्रह गरेको छ। प्रतिकूल मौसमका कारण सडक तथा हवाई यातायात, कृषि, पर्यटन, स्वास्थ्य सेवा र दैनिक जनजीवन प्रभावित हुन सक्ने भएकाले मौसमसम्बन्धी अद्यावधिक सूचना नियमित रूपमा पछ्याउन अनुरोध गरिएको छ।
