बाजुरा- बाजुराको गौमुल गाउँपालिका–१ अम्लिसस्थित सूर्योदय सामुदायिक वनबाट प्रहरीले एक थान अवैध घरेलु एकनाले भरुवा बन्दुक बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय गौमुलबाट खटिएको प्रहरी टोलीले शनिबार वनभित्र लुकाइछिपाई बेवारिसे अवस्थामा राखिएको उक्त बन्दुक फेला पारी बरामद गरेको हो।
बरामद गरिएको बन्दुक जिल्ला प्रहरी कार्यालय बाजुरामा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी तथा प्रहरी निरीक्षक नरेश बहादुर शाहीले जानकारी दिएका छन्।