ललितपुरको पुल्चोकस्थित द प्लाजामा आयोजित ग्राण्ड फिनालेमा दीपमाला ढकालले मिस नेपाल–२०२६ (मिस नेपाल वर्ल्ड) को उपाधि जितेकी छन्। साथै आर्या निशांत मिस नेपाल इन्टरनेशनल–२०२६ र कशिश सुब्बा मिस नेपाल कोस्मो–२०२६ घोषित भएका छन्।
दीपमाला मिस नेपाल हङकङ इन्टरनेशनल–२०२६ समेत हुन्। उनी विश्वप्रसिद्ध लगानी व्यवस्थापन कम्पनी ब्ल्याकरकमा इन्भेस्टमेन्ट स्ट्राटेजिस्टका रूपमा कार्यरत छिन्। साथै उनी ब्ल्याक बेल्ट तेक्वान्दो खेलाडी, रनवे मोडल, अन्तर्राष्ट्रिय कार्यक्रम सञ्चालक (होस्ट) तथा म्याराथन धाविका पनि हुन्। BlackRock

गैरआवासीय नेपाली संघ (एनआरएनए) को इतिहासमै सबैभन्दा कम उमेरमा निर्वाचित सदस्य बनेकी दीपमाला नेपाल क्यान्सर अस्पतालकी गुडविल एम्बास्डर पनि हुन्। उनले मिस वर्ल्डको मञ्चमार्फत क्यान्सरसम्बन्धी जनचेतना अन्तर्राष्ट्रिय स्तरमा फैलाउने लक्ष्य रहेको बताएकी छन्। विशेष कुरा, उनकी आमाले पनि सन् १९९४ मा आयोजित पहिलो मिस नेपाल प्रतियोगितामा सहभागिता जनाएकी थिइन्।
