दाउराको अभाव र ग्यासको महँगीबीच ग्वालावारी सामुदायिक वनद्वारा सहुलियतमा विद्युतीय चुलो वितरणको तयारी, सफल परीक्षण सम्पन्न
कञ्चनपुर- दाउराको अभाव र बजारमा खाना पकाउने ग्यास (सिलिन्डर) को मूल्य निरन्तर बढिरहेका बेला कृष्णपुर नगरपालिका-२, वाणीस्थित ग्वालावारी सामुदायिक वन उपभोक्ता समूह ले आफ्ना सदस्य उपभोक्तालाई सहुलियत दरमा विद्युतीय चुलो वितरण गर्ने तयारी गरेको छ।
कार्यक्रमअन्तर्गत विद्युतीय चुलोको परीक्षण सफलतापूर्वक सम्पन्न भइसकेको छ। समूहका अध्यक्ष गोपाल भारती का अनुसार उपभोक्तालाई धुँवारहित, सुरक्षित, वातावरणमैत्री तथा किफायती ऊर्जाको प्रयोगतर्फ आकर्षित गर्ने उद्देश्यले यो कार्यक्रम सञ्चालन गर्न लागिएको हो।

सामुदायिक वनमा करिब ८०० भन्दा बढी उपभोक्ता आबद्ध छन्। पहिलो चरणमा ३०० भन्दा बढी उपभोक्तालाई सहुलियत दरमा विद्युतीय चुलो वितरण गर्ने तयारी अन्तिम चरणमा पुगेको अध्यक्ष भारतीले जानकारी दिनुभयो। त्यसपछि उपभोक्ताको माग र आवश्यकताअनुसार दोस्रो चरणमा पनि विद्युतीय चुलो वितरण गरिने उहाँको भनाइ छ।
अध्यक्ष गोपाल भारतीको नेतृत्वमा ग्वालावारी सामुदायिक वनले वन संरक्षण, पूर्वाधार विकास तथा उपभोक्ता सेवामूलक कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाउँदै आएको छ। उहाँको कार्यकालमा उपभोक्ताको सुविधाका लागि गोलघर निर्माण, वन क्षेत्रको सुरक्षाका लागि विभिन्न स्थानमा सिसी क्यामेरा जडान, तथा वन परिसरमा आउने आन्तरिक र बाह्य पर्यटकका लागि प्राकृतिक वातावरणसँग मेल खाने विश्रामस्थल (प्रतीक्षालय) निर्माण गरिएको छ।
त्यसैगरी वन क्षेत्रको सरसफाइ, झाडी व्यवस्थापन तथा सामुदायिक वनको सौन्दर्यीकरणलाई पनि निरन्तरता दिइएको छ। वनको सभाहल निर्माणको काम समेत अगाडि बढाइएको छ भने उपभोक्तालाई आवश्यकताअनुसार काठ तथा दाउराको सहज उपलब्धता गराउने प्रयासलाई पनि प्राथमिकतामा राखिएको अध्यक्ष भारतीले बताउनुभयो।
विद्युतीय चुलो वितरण कार्यक्रमले वनमा दाउराको चाप कम गर्न, वातावरण संरक्षणमा टेवा पुर्याउन तथा उपभोक्ताको दैनिक खर्च घटाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास सामुदायिक वनले लिएको छ।
