बालश्रम निवारण र श्रम मर्यादामा उत्कृष्ट कार्य गर्ने स्थानीय तह तथा उद्योग सम्मानित

सरकारले बालश्रम निवारण, श्रम मर्यादा तथा सुरक्षित कार्यस्थल प्रवर्द्धनमा उल्लेखनीय योगदान पुर्‍याउने स्थानीय तह, औद्योगिक प्रतिष्ठान र वैदेशिक रोजगारीबाट फर्केर स्वदेशमै उद्यम सञ्चालन गरेका उद्यमीहरूलाई सम्मान गरेको छ।

Ganyapdhura gau

युवा, श्रम तथा रोजगार मन्त्रालयद्वारा आयोजित ‘बालश्रममुक्त स्थानीय तह घोषणा तथा सम्मान कार्यक्रम’ मा बालश्रममुक्त मापदण्ड पूरा गरेका १३ वटा स्थानीय तहलाई सम्मानपत्र तथा प्रमाणपत्र प्रदान गरिएको हो।

Navadurga sun
Godawari sandesh

कार्यक्रमलाई सम्बोधन गर्दै युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले बालश्रम अन्त्य, श्रमिकको सम्मान र सुरक्षित कार्यस्थल निर्माणलाई समृद्ध राष्ट्र निर्माणको आधारका रूपमा व्याख्या गर्नुभयो।

उहाँले भन्नुभयो, “आजका यी तीन घोषणा सतहमा हेर्दा फरक देखिए पनि यी सबैलाई जोड्ने साझा सिद्धान्त एउटै हो– श्रमको सम्मान। जब हरेक श्रमिकले आफू सुरक्षित भएको अनुभूति गर्छ, जब हरेक बालबालिका विद्यालयमा हुन्छन्, जब हरेक रोजगारदाताले कानुनको सम्मान गर्छन् र जब हरेक युवाले आफ्नो भविष्य स्वदेशमै निर्माण गर्न सकिन्छ भन्ने विश्वास गर्छ, त्यति बेला मात्र राष्ट्र बलियो बन्छ।”

मन्त्री यादवले बालश्रममुक्त घोषणा भएका १३ स्थानीय तहको प्रशंसा गर्दै अन्य सबै स्थानीय तहलाई पनि यथाशीघ्र बालश्रममुक्त घोषणा गर्न आग्रह गर्नुभयो।

उहाँले भन्नुभयो, “बालबालिका काममा होइन, विद्यालय र खेलमैदानमा हुनुपर्छ। आज केवल १३ वटा पालिकाले यो सम्मान पाएका छन्, यो सङ्ख्या पर्याप्त छैन। सबै स्थानीय तहले बालश्रम अन्त्यका लागि आवश्यक मापदण्ड पूरा गर्नुपर्छ।”

Dadeldhura hospital

सरकारले बालश्रममुक्त घोषणा गर्न सफल स्थानीय तहलाई प्रोत्साहनस्वरूप ३ लाख रुपैयाँ र घोषणा पश्चात् थप २ लाख रुपैयाँ अनुदान दिने व्यवस्था गरेको मन्त्रालयले जनाएको छ।

यसैगरी, श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्यको क्षेत्रमा उत्कृष्ट कार्य गर्ने ६ वटा औद्योगिक प्रतिष्ठानलाई पनि सम्मान गरेको छ। २२ वटा सूचकका आधारमा छनोट गरिएका प्रतिष्ठानहरूमा कैलालीको नवजीवन अस्पताल, पूर्वी नवलपरासीको होङ्सी शिवम् सिमेन्ट, रुपन्देहीको अम्बे स्टिल, हेटौँडाको एसियन पेन्ट्स, सिराहाको मारुती सिमेन्ट तथा सुनसरीको मैनावती स्टिल इन्डस्ट्रीज रहेका छन्। आवेदन नपरेका कारण कर्णाली प्रदेशबाट भने कुनै पनि प्रतिष्ठान छनोट हुन सकेन।

यस अवसरमा मन्त्री यादवले जिम्मेवार व्यवसायले सुरक्षित र सम्मानजनक कार्यस्थल निर्माण गर्दै उत्पादनशीलता बढाउन महत्त्वपूर्ण भूमिका खेलेको बताउनुभयो।

उहाँले भन्नुभयो, “श्रमिकहरू सुरक्षित, सम्मानित र उत्साहित हुँदा उत्पादन बढ्छ भन्ने यी प्रतिष्ठानहरूले प्रमाणित गरिरहेका छन्। वैदेशिक र आन्तरिक दुवै श्रम बजारमा हामी जिम्मेवार व्यवसायलाई प्रवर्द्धन गर्नेछौँ।”

कार्यक्रममा वैदेशिक रोजगारीबाट फर्किएर स्वदेशमै उद्यम सञ्चालन गरी रोजगारी सिर्जना गरेका सात जना उद्यमीलाई ‘राष्ट्रिय उद्यमी पुरस्कार’ प्रदान गरिएको थियो।

७१ जना आवेदकमध्ये रोजगारी सिर्जना, पुँजी लगानी तथा स्थानीय स्रोत–साधनको उपयोगका आधारमा सात जना छनोट भएका हुन्। उत्कृष्ट उद्यमीलाई एक लाख ५० हजार रुपैयाँ तथा अन्य सम्मानित उद्यमीलाई जनही ७५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको मन्त्रालयले जनाएको छ।

वैदेशिक रोजगारीबाट फर्किएर स्वदेशमै उद्यम सञ्चालन गर्ने युवाको प्रशंसा गर्दै मन्त्री यादवले भन्नुभयो, “हामी ती व्यक्तिहरूलाई सम्मान गर्दछौँ, जो रोजगारीको खोजीमा विदेश जानुभयो र फर्किएपछि स्वदेशमै उद्यम स्थापना गरी अरूका लागि पनि रोजगारी सिर्जना गर्नुभयो।”

मन्त्रालयले यस्ता सम्मान कार्यक्रमले अन्य स्थानीय तह, निजी क्षेत्र तथा उद्यमीहरूलाई बालश्रम अन्त्य, श्रमिकको सुरक्षा र सम्मानजनक कार्यसंस्कृति प्रवर्द्धन गर्न थप प्रेरणा मिल्ने विश्वास व्यक्त गरेको छ।

Couple
Loading...